बाँके । बाँकेका अधिकांश स्थानीय तहले राहत वितरण र क्षतिको विवरण संकलन एकसाथ सुरु गरेका छन् । केही दिनअघिदेखि निरन्तर परेको वर्षाले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा विस्थापित भएकाहरुलाई राहत वितरण र वास्तविक क्षतिको विवरण निश्चित गर्न लागिएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
राप्ती सोनारी गाउँपालिकामा सर्वपक्षीय बैठक बसेर क्षतिको विवरण संकलन सुरु गरिएको त्यहाँका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए। उनले वर्षाका कारण विस्थापनमा परेकालाई प्राथमिकता दिएर कतिपय ठाउँमा राहत वितरण गरिएको बताए। “राहत वितरण दोहोरो नहोस् भनेर सजगता अपनाइएको छ” उनले भने।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गर्न निर्देशन दिए। स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले गााउँपालिकाका ६ वडाका अध्यक्षलाई वास्तविक पीडित पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखेर काम गर्न सुझाव दिए ।

गाउँपालिकावासीसहित विपद् व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले छ वडामा भएको क्षतिको विवरण संकलन गरी राहत वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले संकलन भएका राहत सामग्री एकद्वार प्रणालीमार्फत पालिकाबाट वितरण गर्ने, वर्षाका कारण क्षति भएका सार्वजनिक संरचना तत्काल पुनःनिर्माण गराउने, धानबालीको क्षति विवरण कृषि शाखाले संकलन गर्नेलगायतका निर्णय भएको अध्यक्ष शाहले बताए। बैजानाथ गाउँपालिकामा पनि राहत वितरण र क्षतिको विवरण संकलन सुरु भएको छ ।
अबको केही दिनमा नै क्षतिको विवरण आउने र थप राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गंगाराम सापकोटाले जानकारी दिए। उनले केही पीडितलाई कम्बल र झुलसमेत वितरण गरिएको उल्लेख गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाले पनि आकस्मिक रुपमा राहत वितरण गरेको छ। उपमहानगरपालिका–२० मा झुल र केही अत्यावश्यक सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । उनले सो कार्यसँगै तीन दिनभित्र वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गर्न वडा कार्यालयलाई आग्रह गरिएको बताए।
जानकी गाउँपालिकाले पनि वर्षाले भएको क्षतिको विवरण संकलन सुरु गरेको छ। क्षतिको विवरण आएपछि मात्रै राहत वितरण सुरु गरिने स्थानीय विपद् व्यवस्थापन समितिका राजेन्द्र बाजपेयीले जानकारी दिए। बाँकेमा वर्षाले आठ हजार भन्दाबढी पीडित भएका छन् ।




Comments are closed.