बङ्गुरपालनमा रमाउँदै फागु दम्पती

काठमाडौं । चिमले बारेको घर। घरको छेउछाउ साना–साना बङ्गुरका खोर। त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन् तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु । फागु ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्थे । संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गथ्र्यो फागुलाई ।

संस्थाको सुकिलोमुकिलो जागिर छोडेर अहिले फागु कृषि पेसामा रमाउन थालेका छन्। पहिलेदेखि कृषि पेसामा रुचि राख्ने फागुले २०५२ सालदेखि व्यावसायिक रुपमा बङ्गुर पाल्न थाले ।

दुई वटाबाट सुरु गरेको उनको फार्ममा अहिले ६० बङ्गुर छन् । उनले अहिले व्यावसायिक बङ्गुर पालनबाट आफ्नो जीवन गुजारा चलाउँदै आएका छन्। मिहेनत गरेमा आफ्नै गाउँठाउँमा नै विभिन्न व्यवसाय गरेर विदेश वा जागिरमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने फागु सबैका लागि उदाहरण बन्न थालेका छन् ।

footwear zone

उनले बङ्गुर पालेर नै आठ जनाको परिवार धान्दै आएका छन्। फागु भनछन्, “बङगुर पालेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु, घरखर्च चलाउन सहज भएको छ। यसबाट वार्षिक रु पाँच लाख आम्दानी हुन्छ ।”

सानैदेखि बङ्गुरपालन गरेर आफ्नो जिन्दगी चलाउने उनको सोच थियो । आफू सानो हुँदा घरमा बङ्गुर पालेकाले आफूले यही पेसा गर्ने मनसाय राखेर बङ्गुरपालन गरिरहेको फागुले बताए ।

विदेशमा गएर पनि धेरै मेहनत र पसिना नबगाइ हुदैन्। धेरै दुःख पाइन्छ । भाषा बुझिँदैन त्यसैले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ। फागु भन्छन्, “ विदेशमा माटो, पानी, बिरुवा सबै बाहिर देशबाट ल्याएर हराभरा बनाउछन् । हाम्रोमा त प्रकृतिले नै सबै थोक दिएको छ । अब कृषि र पशुपालन व्यवसायमा रुपान्तरण गर्न युवापुस्ताको खाँचो छ । ”

व्यावसायिक बङ्गुरपालन गर्न स्थानीय, प्रदेश सरकारले सहयोग गरोस भन्ने फागुको आशा छ। उनको व्यवसायलाई श्रीमतीले सघाउछिन्। बङ्गुर पाल्न धेरै दुःख हुने गरेको श्रीमती भक्तिमायाले सुनाइन्। भक्तिमाया भन्छिन्, “पहिले बङगुरको माग धेरै हुन्थ्यो, भारत निर्यात हुन्थ्यो । माग बढी थियो, राम्रो आम्दानी हुन्थ्यो, अहिले बङ्गुर उत्पादन बढ्यो। बजारको समस्या हुन थालेको छ । पहिले जस्तो माग छैन ।”

म्याङलुङ नगरपालिकामा व्यावसायिक पशुपालन गर्दै दूध तथा मासु उत्पादन गरीरहेका कृषकका लागि अनुदान सहयोगका कार्यक्रम ल्याउन आवश्यक रहेको उनीहरुको भनाइ छ । यस्ता कार्यक्रम भयो भने जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन सकिने व्यवसायी बताउँछन् । रासस

You might also like

Comments are closed.