पोखरामा छैटौँ पुष्प मेला सञ्चालन हुने

पोखरा । व्यावसायिक प्रवर्द्धन तथा तिहार पर्वलाई लक्षित गरी पोखरामा छैटौँ पुष्प मेला सञ्चालन हुने भएको छ । यहाँका पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् ।

पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवर्द्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिए। गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ।

पुष्प मेलामा रु आठ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा सरकारी तथा विभिन्न संघ संस्थाको सहयोग रहने जानकारी सो अवसरमा दिइएको थियो । प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले जानकारी दिए।

footwear zone

पोखरामा प्रत्येक वर्ष पुष्प प्रदर्शनी गरिँदै आएको भए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण मेला सञ्चालनमा आउन सकेको थिएन । कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायी रहेका छन्। फूलमा गण्डकीलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै फूलको प्रवर्द्धन गरिएको पुष्प व्यवसायी द्वाले बताए। पछिल्लो समय पुष्प खेतीतर्फ कृषक आकर्षित भएको र फूलले मूल्यसमेत पाउने गरेको व्यवसायीहरूले बताएका छन् ।

पोखरामा तिहारको समयमा मात्र रु दुई करोडभन्दा बढी मूल्यको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको जानकारी उक्त अवसरमा दिइएको छ। आयोजकका अनुसार तिहारमा बिक्री हुने ८० प्रतिशत फूल तथा माला कास्की तथा आसपासका जिल्लामा नै उत्पादित हो भने २० प्रतिशत माला तथा फूल भारतबाट आयात हुने गरेको छ । रासस

You might also like

Comments are closed.