धानसँग अदुवा, बेसार र घुइया साट्दै किसान

सुशीला ओली, घोराही । दाङ बङ्गलाचुली गाउँपालिका-२ मर्पेसका खेतुलाल विक पछिल्लो १२ वर्षदेखि घुइया, अदुवा र बेसारको खेती गर्दै आएका छन् ।

पहाडी क्षेत्रमा पर्याप्त मात्रामा धान उत्पादन नहुने तर घुइया, अदुवा र बेसारबाट राम्रो आम्दानी हुने भएकाले उनी त्यसतर्फ आकर्षित भएका हुन् । मर्पेसमा उत्पादन गरिएका यी उत्पादनसँग विक र उनी जस्तै अन्य किसानले वर्षभरीलाई पुग्ने धान साट्छन् ।

‘मर्पेस र खारा क्षेत्रमा धानलगायतका अन्य अन्नबालीको उत्पादन राम्रो छैन, त्यसैले यहाँका अधिकांश किसान अदुवा, घुइया र बेसार खतीमा संलग्न छन्”, विकले भने। किसानहरुले आफूले उत्पादन गरेका घुइया, बेसार र अदुवा धेरैजसो घोराही उपमहानगरपालिकासम्म पुर्‍याउँदै आएका छन् ।

footwear zone

धिमधिमे मालारानी बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष समेत रहेका किसान विकले आफूहरुलाई यही व्यवसायबाटै खुसी मिल्ने गरेको बताए । उनले पनि हाल ४ रोपनी जग्गामा घुइया, अदुवा र बेसारको खेति गर्दै आएका छन् । समूहमा २० घर परिवारका किसान आवद्ध छन् । पालिकाभित्रका सबै वडामा यसको खेती हुँदै आए पनि व्यावसायीक रुपमा खेती गर्ने किसानको संख्या भने एक सय ५० को हाराहारीमा रहेको उनको भनाइ छ ।

सोही स्थानमा लामो समयदेखि अदुवा, घुइया र बेसार खेती गर्दै आएका किसान हिरा पुन यसबाट आफूहरुले राम्रो आम्दानी गरिरहेको बताए ।

“आफूले उत्पादन गरेका वस्तुबाट ७ महिनाका लागि पुग्ने अन्न साट्न सकिन्छ”, उनले भने, “धान रोप्ने हो भने अन्य अन्नबालीको उत्पादन घट्ने भएपछि यसैलाई निरन्तरता दिएका हौं ।”

धिमधिमे मालारानी बहुउदेश्यीय कृषक समूहका कोषाध्यक्ष बीरबहादुर सुनारले पनि बङ्गालाचुली गाउँपालिका अन्तर्गतका क्षेत्रमा हावा पानी समेत राम्रो भएकाले अदुवा, घुइया र बेसारको व्यावसायीक रुपमा खेति गर्ने किसानको संख्या बढ्दै बताए ।

हाल किसानहरुले अनुदान र सहयोग प्राप्त भए अझ व्यवस्थित रुपमा उत्पादन गर्न सकिने बताउँदै आएका छन् । समूहका कोषाध्यक्ष सुनार आगामी आर्थिक वर्षदेखि अनुदान र सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताए ।

You might also like

Comments are closed.