भरतपुर । चितवनको माडीस्थित मगुई खोला सिँचाइ योजनाको काम अघि बढ्न सकेको छैन । विसं २०७४ मा सुरु भएको योजना निर्माण कम्पनीले समयमा काम नगर्दा काम अलपत्र परेको हो ।
योजनाको ४२ प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिले निर्माण जिम्मा पाएको शिवशक्ति सपना जेभीले बीचैमा काम छाडेको छ । निर्माण कम्पनीसँग रु छ करोड ६६ लाख १९ हजार दुई सय ३० मा योजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । मगुई खोला सिँचाइ योजना उपभोक्ता समितका अध्यक्ष प्रभानन्द तिवारीले निर्माण कम्पनीको लापरवाहीले काम अघि बढ्न नसकेको बताए ।
“निर्माणको जिम्मा पाएको कम्पनीले तीन पटकसम्म विभिन्न कम्पनीलाई पेटीमा ठेक्का दिँदै काम लगाउँदै गर्यो”, उनले भने, “अहिले कसैले पनि काम गरेका छैनन् ।” उनले निर्माणको काम गर्दागर्दै बाढीले क्षति पुर्याएपछि योजनाको काम झन् अस्तव्यस्त भएको बताए ।यस वर्षको बाढीले पनि निर्माण भएको संरचनामा क्षति पुर्याएको उनले बताए ।

“योजना सुरु नहुँदा बरु कच्ची कुलोबाट स्थानीयले सिँचाइ गरेका थिए, पक्की निर्माण सुरु भएपछि कुलोमा पानी आउन ठप्प भयो”, उनले भने। यस वर्ष आकाशको पानीको भरमा र खोलाबाट जेनेरेटर लगाएर सिँचाइ गरिएको तिवारीले बताए ।
माडी नगरपालिका वडा नं ४ र ५ को सिमाना छरछरेमा सिँचाइ योजनाको ड्याम निर्माण गरिएको छ । छरछरेबाट पश्चिमपट्टि लौगाइसम्म तीन हजार दुई सय मिटर र पूर्वपट्टि दुई हजार मिटर नहर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । योजना निर्माण भए माडी नगरपालिका वडा नं २, ४, ५ र ६ का बासिन्दा लाभान्वित हुन्छन् । निर्माण कम्पनीसँग योजना निर्माणका लागि विसं २०७४ असोज २३ गते सम्झौता गरिएको थियो ।
विसं २०७७ असोज २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने योजनाको दुई पटकसम्म म्याद थप गरिसकिएको छ । पछिल्लो समय यो वर्षको चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय भरतपुरका इञ्जीनियर रामचन्द्र विष्टले जानकारी दिए ।
उनले कार्यालयले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि कामले गति लिन नसकेको बताए । पछिल्लोपटक बागमती प्रदेशको सिँचाइ मन्त्रालयबाट म्याद थपिएको भन्दै अब म्याद थप्ने नथप्नेबारे मन्त्रालयबाटै निर्णय हुने विष्टले जानकारी दिए । निर्माण कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण व्यवसायी, उपभोक्ता र कार्यालयका प्रतिनिधिसहित बैठक बसेरसमेत निर्देशन दिइएको उनले बताए ।
निर्माण कम्पनी शिवशक्ति सपना जेभीका प्रतिनिधि सुरेन्द्र पाठकले आफूहरूले निर्माणका लागि जिम्मा दिएकाहरूबाट काम नभएको स्वीकार गर्दै निर्वाचनपछि र्दुतगतिमा काम गर्ने बताए । उनले कोरोनालगायतका कारण पनि सिँचाइ योजनाको काममा सुस्तता आएको बताए। माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले पटक-पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेको बताइन् ।




Comments are closed.