पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा)को १७औं साधारणसभा एवं नवौं अधिवेशन २०७९ कात्तिक २६ गते शनिबार पोखरामा हुँदैछ । अधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ अध्यक्ष बन्दैछन् । श्रेष्ठसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी :
अटोमोबाइल व्यवसायमा कहिलेदेखि आवद्ध हुनुहुन्छ ?
म २०४६ सालदेखि अटोमोबाइल व्यवसायमा आवद्ध छु । तर, त्यो भन्दा पहिला २०४० सालदेखि नै सक्रिय रुपले नभएपनि सामान्य किसिमले जोडिएको थिएँ । काठमाडौंदेखि सामानहरु ल्याउने बुझाउने गर्दै आएको थिएँ । विधिवत रुपमा चाहिँ २०४६ सालमा एउटा फर्म खोलेर व्यवसाय सुरु गरेको हुँ ।

वाडामा तपाईंको आवद्धता कहिलेदेखि रह्यो ?
वाडा भन्दा अगाडि कास्की मोटरसाइकल अटो वर्कस् एशोसियसनमा म दुई तीन कार्यकालमा कोषाध्यक्ष भएको काम गरेँ । त्यसपछि हाम्रो संस्था र गण्डकी अटोमोबाइल एसोसिएसन एउटै किसिमका दुई वटा संस्था फरक–फरक किन जाने भन्दै २०६२ सालमा दुईवटा संस्थालाई एउटै बनाएर अगाडि बढाएका हौं । मर्ज भइसकेपछि दुई कार्यकाल साधारण सदस्यमा बसेँ । त्यसपछिका दुई कार्यकाल मैले ‘ग्याप’ गरे । त्यसबेला संस्थामा म आवद्ध थिइन । त्यसपछि म फेरि कार्यसमितिमा आएँ । कार्यसमितिमा दुई वर्ष काम गरेँ । त्यसपछि सचिवमा गएँ । सचिव पछि महासचिव हुँदै उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अब अध्यक्ष हुने लाइनमा आएको छु ।
अब अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ । अध्यक्ष बनिसकेपछि यहाँका कार्ययोजनाहरु के–के छन् ?
२०७९ कात्तिक २६ गते हुने अधिवेशनबाट अब अध्यक्ष बन्ने तयारी मैले गरेको छु । त्यसमा म भन्दा अघिका अध्यक्षहरुले संस्थालाई अगाडि बढाउन गरेका राम्रा कार्यलाई नै निरन्तरता दिने सोच मैले बनाएको छु । मेरो कार्यकाल सुरु भइसकेपछि मैले केही कार्यक्रमहरु त गर्ने खाका बनाइरहेको छु । त्यो कार्यक्रमले संस्थाको प्रगतिमा अझै ईट्टा थप्ने काम गर्छ भन्ने मैले आशा गरेको छु ।
पोखराका अटो मोबाइल व्यवसायीहरुलाई के भन्न चाहानु हुन्छ ?
पोखराका अटो मोबाइल व्यवसायीहरुलाई म के भन्न चाहान्छु भने रोडमा अहिले जुन गाडीहरुको सङ्ख्या बढी रहेको छ त्यो अनुसार अटोमोबाइल व्यवसाय पनि बढ्नु स्वभाविक नै हो । तर, अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । जस्तोः कुनैकुनै सामानहरुमा हामी लगानी गर्छौ, लगानी गरिसकेपछि त्यसबाट केही नकेही न्यूनतम मुनाफा हामीले लिनुुपर्ने हुन्छ । तर, यहाँ यस्तो अस्वस्थ प्रतिस्पर्धा छ कि कस्ले सस्तोमा सामान दिने भन्ने प्रतिस्पर्धा छ । त्यो सबैका लागि एकदमै नराम्रो हो । मैले मेरो कार्यकालमा सकेसम्म अटोमोबाइल व्यवसायमा आफ्नो लगानी गरीसकेपछि न्यूनतम एउटा मार्जिन लिएर मात्रै बेच्न सक्ने वातावरण बनाउने कोशिस गर्नेछु ।
यहाँको कार्यकालमा गर्ने कार्यक्रमहरु के–के छन् ?
मैले मेरो कार्यकालमा गर्ने कार्यक्रमहरुमा भिसिटिएस गर्ने एउटा कार्यक्रम छ । जुन नाडाले सातै प्रदेशमा गर्दै आएको छ । अहिले ६ प्रदेशमा भइसकेको छ । हाम्रो प्रदेश ४ मा भएको छैन् । यसलाई मेरो कार्यकाल सुरु भएपछि नाडासँग समन्वय गरेर भिसिटिएस कार्यक्रम गर्न तुरुन्तै सुरु गर्नेछुु । अर्को ट्राफिक प्रहरी सम्मान र ट्राफिक नियमसम्बन्धी जनचेतना कार्यक्रम पनि गर्नेछु । दुर्घटना न्युन गर्न विभिन्न कार्यक्रम ल्याउने छु । अर्को छ इन्टर लिङ्क । व्यापारीहरुबीच एकआपसमा व्यापार विस्तार गर्ने सोचेको छु । जस्तो, कुनै एकजना व्यापारीले सामानको डिलरसिप लिएर आएको छ भने अर्को व्यापारीले त्योसँग प्रतिस्पर्धा गर्नका लागि पाँच दश रुपैयाँ महँगो परेपनि बाहिरबाट सामान ल्याएर बेच्ने चलन छ । यसलाई मैले समन्वय गरेर सकेसम्म हामीले एकआपसमा व्यापार विस्तार गर्नलाई ज–जस्ले डिलरसिप लिइरहेको छ त्यो सामानलाई एकआपसमा बेच्ने वातावरण बनाउने सोच बनाएको छु ।

त्यसैगरी व्यापार सम्बन्धी विज्ञहरु ल्याएर आफ्नो व्यापार आधुनिक तरिकाले कसरी विस्तार गर्न सकिन्छ भन्नका लागि ‘कि नोट स्पिकर’ कार्यक्रम पनि ल्याउनेछु । संस्थालाई आर्थिक रुपमा बलियो बनाउन फण्डराइज कार्यक्रम ल्याउने छु । त्यस्तै, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राख्नेछु । विगतका कार्यक्रम जस्तै अध्ययन, भ्रमण तथा अवलोकन कार्यक्रम पनि राख्नेछुु । यसअघि जस्तै सरकारी विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम गर्दै आएका छौं त्यसलाई निरन्तरता दिनेछु । उद्योग वाणिज्य संघले ल्याएको कार्यक्रमहरुसँग पनि सहकार्य गर्नेछु । स्थानीय तह तथा सरकारसँग पनि सहकार्य गरी कार्यक्रम गर्ने मेरो योजना छ । महानगरपालिकाले ल्याएका कुनै पनि ट्रेनिङ कार्यक्रमहरुलाई सहकार्य गर्नेछु ।




Comments are closed.