शान्तिको सन्देश बोकेर साइकलमा नेपाल-भारतका धार्मिक क्षेत्रको यात्रा

कञ्चनपुर । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङको बूढीगंगा गाउँपालिका-४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुगेका छन् ।

गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुगेका हुन् । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताए ।

“धार्मिक क्षेत्रको जानकारी संकलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु”, उनले भने, “शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पुर्‍याउनका लागि अभियान थालनी गरेको हुँ ।”

footwear zone

नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उनले धार्मिक महत्व उत्तिकै रहेको बताए । “धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन”, उनले भने, “नेपालमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भारतका तीर्थस्थलमा पुगेर प्रचारप्रसार गर्नका लागि यात्रामा निस्किएको छु ।” भारतका ३४ प्रान्तका चर्चित तीर्थस्थलमा पुग्ने लक्ष्य लिइएको उनले बताए ।

भारतको कामाख्या पुगेर पुनःनेपालको मेची नदीको पुलमा पुगेर यात्राको समापन गरिने साइकल यात्रामा निस्केका खतिवडाको भनाइ छ । यात्राका क्रममा पुगेका तीर्थस्थलको महिमाबारे उनले बास बस्ने स्थानका बासिन्दालाई सुनाउने गरेका छन् ।

यात्राका क्रममा देवालय, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका ब्यारेकमा बास बस्दै आएका छन् । गच्छेअनुसार दिएको दक्षिणा लिएर यात्राको खर्च धान्दै आएको साइकल यात्रामा निस्केका खतिवडाले बताए । यात्रा गर्ने स्थानका स्थानीय तहले खतिवडालाई आर्थिक सहयोग गरेका छन् ।

You might also like

Comments are closed.