अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

भजनी । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएको छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो ।

भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवद्र्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको बताउँछन् । “बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ”, बुढाले भने, “कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।”

फार्ममा बचेका बङ्गुर पनि नष्ट गर्नुपर्ने पशु सेवा विभाग काठमाडौंका डा मुकुल उपाध्यायले बताए । “जतिसक्दो छोटो फार्म खाली गराउनुपर्छ । त्यसको सङ्क्रमण अन्यत्र नसर्न दिन बचेका बङ्गुर पनि नष्ट गर्नुपर्छ”, उपाध्यायले भने, “यो सङ्क्रमण अन्त फैलियो भने त्यसले महामारीको रूप लिन सक्छ र जोखिम बढ्न सक्छ ।”

footwear zone

असोज पहिलो साताबाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौंमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो । बङ्गुरमा महामरी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको छ । भजनी नगरकार्यपालिकाले प्रदेश तथा सङ्घीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौंमा यो रोग देखिएको हो ।

बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो । यसका कारण बङ्गुर मर्न थालेपछि गृहसचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौं डा मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा नरेशप्रसाद जोशी, भेटेरेनरी अस्पताल कैलालीका डा हेमराज अवस्थीसमेतले स्थलगत अनुगमन गरेका थिए ।

फार्ममा अझै पनि केही बङ्गुर जीवित छन् । फार्मका सञ्चालक बुढाले राहतको पर्खाइमा बचेका बङ्गुर नष्ट गर्न सकेका छैनन् । उता नगरपालिकाका नगरप्रमुख केवल चौधरीले सङ्क्रमण अन्यत्र फैलिन नदिनका लागि सावधानी अपनाएको बताउँदै फार्ममा भएको क्षतिको विवरण नगरपालिकाले सङ्कलन गरेर प्रदेश र सङ्घीय सरकारलाई राहतको व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय कार्यपालिकाबाट पास गरेको बताए ।

You might also like

Comments are closed.