आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता

काठमाडौं। नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर)ले अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न ब्रिटिश काउन्सिलसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष प्रेम पाण्डे र ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर म्याक्सिम रइमानले हस्ताक्षर गरेका छन् ।

नायर र ब्रिटिश काउन्सिलबीच आइएलटिएस परीक्षामा कसरी सहभागी हुने र राम्रो अंक ल्याउने भन्नेबारे विद्यार्थीहरुलाई नियमित तालिम र कार्यशाला गोष्ठीहरु गर्ने सहमति भएको हो। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीको हितमा काम गर्न दुवै संस्था सहमत भएका हुन् ।

नायर सन् २००७ मा स्थापना भएको संस्था हो। नायरले विद्यार्थीहरुलाई इमान्दारिता, नैतिक शिक्षा, अष्ट्रेलियाको उच्च शिक्षा, विषय, उनीहरूले प्रतिनिधित्व गर्ने संस्थाहरूका बारेमा निष्पक्ष जानकारी प्रदान गर्दै आएको छ ।

footwear zone

नायरमा ४० जना शैक्षिक परामर्शदाताहरु रहेका छन्। यसका साथै अष्ट्रेलियाली शिक्षा प्रवर्द्धन गर्न, बजारमा सचेतना ल्याउन, अष्ट्रेलियाली दूतावाससहित अन्य सरकारी निकायहरूलाई सुझाव र प्रतिक्रिया दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। वर्षमा एकपटक विशेष अष्ट्रेलियाली शैक्षिक मेला सञ्चालन गर्ने, अष्ट्रेलियालाई लोकप्रिय र सुरक्षित अध्ययन गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य नायरको छ ।

त्यस्तै, नायरले स्थापना गरेको अष्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर (एइआइसी) लाई प्रभावकारी बनाउन पनि ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय, काउन्सिल र शैक्षिक परामर्शदाताहरुले काउन्सिलिङका लागि उक्त सेन्टरको हल प्रयोग गर्न पाउनेछन्।

विद्यार्थीहरुले सेन्टरमा रहेको पुस्तकालय तथा त्यहाँका ४२ विश्वविद्यालयका सबै पुस्तकालय नि:शुल्क प्रयोग गर्न पाउनेछन्। विद्यार्थीलाई लक्षित गरी बनाइएका डिजिटल ल्याब, लाइब्रेरीहरुको प्रवर्द्धन गर्न ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको हो।

You might also like

Comments are closed.