गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने

काठमाडौं । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले थप दुई जना सफाइ कर्मचारीको व्यवस्था गरी सफाइमा विशेष ध्यान दिन लागेको हो । मन्दिर क्षेत्रमा श्राद्ध गर्न आउने र अन्य भक्तजनले फालेका प्लाष्टिकलगायत फोहरले गोकर्णेश्वर क्षेत्र प्रदूषित बन्ने गरेको छ ।

श्राद्ध गर्न आउनेले सफाइकै लागि भन्दै शुल्क तिर्ने गरे पनि त्यसको सही व्यवस्थापन नभएको गुनासो भक्तजनबाट आएकाले सुधार गर्न लागेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नंं ४ का अध्यक्ष जयराम महतले जानकारी दिए।

footwear zone

मन्दिर क्षेत्रलाई आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न मूलढोका पनि निर्माण भइरहेको छ। मन्दिर क्षेत्रमा जगडोल डाँडाबाट आउने भेल नियन्त्रणका लागि पनि काम भइरहेको उनले जानकारी दिए। वन विभागसँगको सहकार्यमा कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्न लागिएको छ।

ऐतिहासिक, पुरातात्विक, पौराणिक र सांस्कृतिकरुपमा पशुपतिनाथको जत्तिकै महत्वको मन्दिर भएपनि सरोकार भएका निकायको बेवास्ताका कारण पछि परेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न आफूले ठोस काम गर्न लागेको वडाध्यक्ष महतले सुनाए।

पशुपति क्षेत्रमा आउने सबै पर्यटकलाई गोकर्णेश्वर क्षेत्र लैजाने गरी नगरपालिकाले काम गरिरहेको जनाइएको छ। पशुपति क्षेत्रमा गोकर्णेश्वरको महत्व झल्कने ‘फ्लेक्स’ राखिएको छ। यसका कारण पनि गोकर्णेश्वर क्षेत्रमा पर्यटक बढ्न थालेका छन्। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको दर्शन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको पहलमा गोकर्णेश्वरबाट उत्तरगयासम्मको नदी किनारमा भकारी बनाएर नदी क्षेत्रलाई व्यवस्थित गर्ने काम अन्तिम चरणमा पुगेको छ। यसका कारण पनि यो क्षेत्रको धार्मिक महत्व बढ्ने आशा गरिएको छ। यस क्षेत्रमा अहिले पूर्वाधार निर्माणका काम भइरहेकाले समेत केही फोहर देखिएको समितिले जनाएको छ।

नदी क्षेत्रको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले सम्पन्न भएपछि मन्दिर क्षेत्रको सफाइमा टेवा पुग्ने विश्वास गरिएको छ । मन्दिर क्षेत्रका प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउन लागिएको समितिले जनाएको छ।

You might also like

Comments are closed.