किसानलाई सधैँ मल र बीउकै अभाव

जीतेन्द्रकुमार झा, हनुमाननगर । उनी हुन्, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँ । उनले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गगरेका छन् । उनी भन्छन्, “साहुबाट ऋण सापटी लिएर लगानी त गरेँ तर समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन हुने सम्भावना देखिँदैन ।”

खेत पनि आफ्नै होइन, प्रायजसो खेत भाडाको हुन्छ जसको कुत तिर्नुपर्छ साहुलाई । “ गिरहत (भाडा) को कर र वर्ष दिनको खाद्यानको जोहो गर्न पनि धौधौ छ”, रैजमुन भन्छन्, “धानखेतीका लागि लिएको ऋण चुक्ता गर्न पाएको छैन, गहुँखेती कसरी गर्ने भन्ने तनावले पिरोलिन थालेको छ ।” पछिल्लो समयमा मल र बीउ नपाएर गहुँखेती राम्ररी गर्न नपाएका यहाँका कृषक यस वर्ष पनि उस्तै पीडामा छन् । आउने मौसममा अवस्था सध्रिएला भन्ने आशमा रहेका किसानसँग प्रत्येकमा उही तनाव, उही चुनौती र उस्तै पीडा रहने गरेको अर्का किसान चन्द्रनारायण मण्डल बताउछन् ।

“किसानको समस्या समाधानका नाममा राज्यसँग एक थान आश्वासन मात्रै हुन्छ कि आउने मौसममा मलको अभाव हुँदैन, समयमै बीउबिजनको व्यवस्था गरिन्छ, सिँचाइको प्रवर्द्धन मिलाइने छन् । तर, आखिर कहिले ?”, प्रश्न गर्दै मण्डल भन्छन्, “ आश्वासनले मात्रै किसानको समस्या सामाधान हुने होइन ।”

footwear zone

यतिखेर धान भित्र्याउन व्यस्त रहेका सप्तरीका किसानलाई गहुँबालीका लागि बीउ तथा मलको कारण चिन्तित तुल्याएको छ । मलका निम्ति किसानलाई सडक आन्दोलनदेखि जिल्ला प्रशासन कार्यालय घेराउसम्म नै गर्नुपरेको थियो । तर पनि आवश्यक मलखाद पाउन सकिएको थिएन । यद्यपि प्रशासनदेखि जनप्रतिनिधिसम्मले अब आउने सिजनमा मल तथा बीउबिजनको अभाव नहुने प्रतिबद्धता भने जनाएका थिए ।

जहिले पनि किसानका लागि मलखाद तथा बीउबिजनको अभाव नै रहने गरेको अर्का किसान अताबुल मन्सुरीको गुनासो छ । मलको अभावमा पछिल्लो मौसम गहुँखेतीमा घाटा बेहोर्नुपरेको र त्यस्तै अवस्था धानका बेला पनि झेल्नुपरेको उनी बताउछन् । “प्रतिकट्ठा डेढदेखि दुई मन (६० देखि ८० केजी) सरदर उब्जाउ हुने गहुँ मलको अभावमा कट्ठाको १० देखि १५ केजी उब्जियो, धानको पनि उस्तै अवस्था छ”, अताबुल भन्छन्, “यस्तै अवस्था रहिरहे बचेका किसान पनि खेतीबाट विस्थापित हुन बेर लाग्दैन ।”

यस भेगका किसानले लगाउने मुख्य बाली धान र गहुँ हो । धान बाढी वर्षाले बर्बाद भएको तथा गहुँबाली लगाउन मलदेखि बीउबिजनसम्मको अभावले अन्न उपलब्धतामा कमी आउने हो भन्नेमा किसान चिन्तित छन् । निर्वाहमुखी खेती गर्ने यस भेगका किसानलाई वर्ष दिने के खाने र कसरी जीवन निर्वाह गर्ने चिन्ता र चुनौती दुवै थपिएको तिलाठीका अगुवा कृषक श्यामप्रसाद कामैत बताउछन् ।

सप्तरीमा वार्षिक २३ हजार आठ सय ५७ मेट्रिकटन युरिया, १२ हजार सात सय ८४ मेट्रिकटन डिएपी र नौ हजार २४ मेट्रिकटन पोटास आवश्यक पर्ने तथ्यांकले देखाउँछ । तीमध्ये हाल चार सय नौ मेट्रिकटन डिएपी र दुई सय ८३ मेट्रिकटन युरिया हाल उपलब्ध रहेको छ । यसैबीच सप्तरीका किसानलाई समयमै आवश्यक मल र बीउबिजन उपलब्धताको वातावरण मिलाइ दिन आग्रह गर्दै यहाँका स्थानीय तहका प्रमुखले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत पठाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी गराए ।

You might also like

Comments are closed.