किसानको आयआर्जन बढाउन अनुदानमा गाई वितरण

ताप्लेजुङ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अर्गानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा किसानलाई उन्नत जातको गाई वितरण गरेको हो।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब आठ लाख रुपैयाँमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए।

वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुंगेसाँघुका किसानलाई वितरण गरिएको छ। किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ।

footwear zone

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरी किसानले खेतीपाती उत्पादन वृद्धि तथा अर्गानिक तरकारी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए।

गाउँपालिकाले अगाडि नै अर्गानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ। अभियानका लागि उन्‍नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।

You might also like

Comments are closed.