काठमाडौं । निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणघाट-बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ । एक बर्षको म्याद थपिएपछि कम्पनीले सडक निर्माणलाई तीव्रता दिएको हो ।
गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको उनले बताए । उनका आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेका छन् ।
आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युत्का पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युत्का पोल सार्ने काम सकिएको हो । उनले पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा निर्माणको काम भइरहेकोे बताए । उनका अनुसार २२ साना पुलमध्ये १३ मा काम सकिएको छ भने अन्यमा काम भइरहेको हो । आयोजनाले सडकमा हाल्नुपर्ने माटो, गिट्टी र बालुवा देवचुली र कावासोती नगरपालिका क्षेत्रबाट लिएर पुर्ने कामसमेत सँगसँगै अगाडि बढाएको हो ।

यसअघि निर्माण सामग्रीको कमी, कोरोना महामारी, बिजुलीको पोल र खानेपानीको पाइप सार्ने काम नहुँदा कामले तीव्रता नपाएको समस्या समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दिष्टीले बताए । उनले कामले तीव्रता पाएपछि स्थानीय बासिन्दा पनि खुसी भएको र तोकिएको समयमै सम्पन्न नभए पनि यही गतिमा काम हुने हो भने छिट्टै काम सम्पन्न हुने विश्वास ब्यक्त गरे ।
प्रमुख दिष्टीका अनुसार गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज–१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज–२ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एक सय १३ किलोमिटर छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।




Comments are closed.