भोजपुर । आयुर्वेदिक उपचार पद्धतिमा यहाँका स्थानीयवासीको जनविश्वास बढेको छ। कम खर्चमा रोग निको हुने भएपछि स्थानीयवासीको यस्तो उपचार पद्धतिप्रति जनविश्वास बढेको हो।
आयुर्वेदिक उपचार पद्धतिको विषयमा जानकारी पाएसँगै दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ।
आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ जना बिरामीले सेवा लिएका थिए। उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी र नशासम्बन्धीका रोगी रहेको कार्यालयको भनाइ छ ।

बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ । केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ ।
लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् ।
स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुर्वेदिक उपचारबाट निको भएको अनुभव सुनाए। केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवालगायत सेवा सञ्चालनमा रहेको छ। आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको स्थानीयवासी पासाङदिकी शेर्पाले बताए।
आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताए । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।




Comments are closed.