चितवन । यही पुस ८ गतेदेखि चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला हुने भएको छ । चितवनको पार्क सफारी रिर्सोट सौराहामा अटोमोवाइलको वर्तमान परिस्थितीका सम्बन्धमा दुई दिने बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुन लागेको हो ।
छलफलमा नाडाका पूर्व अध्यक्षहरु, सातै प्रदेश एसोसिएसनका अध्यक्षहरुलगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्य समितिको सहभागिता रहनेछ ।
कार्यक्रममा नाडा तथा प्रदेश एसोसिएसनहरुबीच नेपालको समग्र अटोमोवाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याजदरलगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्र्ने छन् ।
नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २२ गते काठमाडौंलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।

सो बृहत छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था सिर्जना भएको भन्दै आगामी कार्ययोजना र निष्कर्षबारे व्यापक छलफल हुने छ ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुती समेत दिने छन् ।
त्यस्तै, नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दै सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम सम्पन्न हुनु अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुनेछ ।




Comments are closed.