चितवन । बेरुजु बढ्दै गएपछि कालिका नगरपालिकाले बेरुजु फछ्र्यौट नगर्ने विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । बेरुजु बढ्दै गएपछि बेरुजुलाई असुल गर्ने अभियानस्वरुप तलब रोक्का गर्न थालिएको हो ।
नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ विद्यालयमध्ये कार्तिक महिनामा १३ विद्यालयमा मात्र तलब निकासा गरिएको थियो । यो सङ्ख्या मङ्सिरमा २५ पुगेको छ । १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोकिएको छ । सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको उनले भने ।
विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए ।नगरपालिकाभित्र विगतदेखि हालसम्मको रु १६ करोडभन्दा बढी बेरुजु रहेको छ ।

सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा बेरुजु रहेको रेग्मीले जानकारी दिए । नगरपालिकाले विद्यालयमा हरेक महिना तलब पठाउने गर्दछ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको उनी बताउछन् । यससँगै नगरपालिकाले प्रधानाध्यापक र लेखा प्रमुखका लागि दुईदिने लेखासम्बन्धी तालिमसमेत दिएको छ ।
प्रमुख रेग्मीले भने, “अब बेरुजु हुन दिदैनौँ । पहिलेको पनि उठाउँछौँ ।” तलब रोकिएपछि शिक्षकका संघ संगठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ । उनले थपे, “हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।” कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएको समेत पाइएको छ ।




Comments are closed.