काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अब बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क (KIOSK) मेसिनमार्फत जम्मा गर्नसकिने सेवाको शुभारभ्भ गरेको हो ।
नयाँ सेवामार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिकरुपमा कुनै भौचर नभरेर केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।
यस सुविधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएकाहरुको सम्पर्क नम्बर तथा क्लियरिङ सेसनलगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सकिनेछ ।

उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नेछन् । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ ।
कियोस्क (KIOSK) मेसिनमार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नका लागि भौतिकरुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।




Comments are closed.