काठमाडौं । पछिल्लो समयमा काठमाडौं लगाएत देशभर चिसो बढीरहेको छ । जसको कारण सर्वसाधरणलाई दैनिक कार्य गर्न अप्ठेरो बन्दै गएको छ । मुख्य गरी तराईमा विगत एक हप्तादेखि बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी सताइएका छन् । दिनभरि काम गरी एक छाक टार्ने गरिब र निमुखा परिवार अहिले आगोको भरमा दिन बिताउन बाध्य छन् ।बिहानदेखि बेलुकासम्म कठ्याङ्ग्रिदो चिसो हुने गरेकाले दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन बिताउने गरेको उनीहरुको भनाइ छ ।
दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण छाप्रोमा बस्ने स–साना बालबालिका तथा वृद्धवृद्धालाई बढी सताएको छ । चिसो बढेसँगै न्यानो कपडाको अभावका कारण आगोको भरमै दिर्न बिताउने गरे पनि रातिको समयमा परालले बनाएको चटाईको भरमा रात बिताउने गरिएको पीडितहरुको भनाइ छ ।

रातिको समयमा बाक्लो हुस्सुसँगै शीतलहर पर्न थालेपछि शीतलहरको पानी ओछ्यानसम्म आउने गरेकोले सुत्न पनि समस्या हुन थालेको छ तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको सहयोग नआएको स्थानीयवासीको भनाइ छ । अहिले धनुषासहित मधेस प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो ।बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ ।
चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भिड लाग्ने गरेको छ । चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् । जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासि जाडो बढेपछि मुक्त विपन्न दलित, सीमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् ।
यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाए । चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । उनले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने उल्लेख गरे । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उनको सुझाब थियो ।




Comments are closed.