पोखरा । पुस ७ गतेदेखि सुरु भएको १८ औं संस्करणको लेखनाथ महोत्सव यतिबेला जारी छ । महोत्सवको आठौं दिनसम्म आइपुग्दा दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको छ । महोत्सवमा सोचेभन्दा बढी दर्शकको साथ मिलेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
महोत्सवको आठौं दिनसम्म आइपुग्दा कुल १ लाख ६५ हजार दर्शकहरुले अवलोकन गरेका प्रचारप्रसार संयोजक ओझाले जानकारी दिए । महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २० र १४ गते पनि २० हजार गरी कुल १ लाख ६५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।
त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम करिब ७ करोड पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड र १४ गते आज पनि १ करोड गरी कुल कारोबार रकम ६ करोड ९० लाख पुगेको संयोजक ओझाले जानकारी दिए । भोलि र पर्सि सार्वजनिक बिदा परेकाले दर्शकको उल्लेखनिय सहभागिता रहने आयोजकको अनुमान छ ।

महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । बिहीबार भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु चन्द्र शर्मा, प्रकाश पराजुली, नवराज अधिकारी, सुमन खड्का गायिकाहरु सम्झना लामिछाने मगर, माया गुरुङ, दुर्गा क्षेत्रीको प्रस्तुति रहेको थियो भने हाँस्यव्याग्य तर्फ राजा राजेन्द्रको प्रस्तुती रहेको थियो । बेलुकीको लाइभ कन्सर्टतर्फ र्यापर आशिष राना (लाउरे) र श्रृतु कँडेलको प्रस्तुति रहेको थियो ।
त्यस्तै, शुक्रबार हुने लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु राजन गुरुङ, राजु गुरुङ, रामजी पौडेल, गगन गुरुङ गायिकाहरु जलुमाया गुरुङ, रीया खड्का, रतिमाया खड्का र पारु गुरुङ रहेका छन् भने, हाँस्यव्याग्य तर्फ राजेन्द्र गिरी (कुन्दुके जादूगर), मिना गिरी र संसारकै होचा मनोज गोर्खालीको प्रस्तुति रहनेछ । लाइभ कन्सर्टतर्फ छेवाङ लामा, राजेन्द्र वर्देवा र प्रिया गुरुङको प्रस्तुति रहने छ ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको बिहीबार तनहुँबाट गण्डकी प्रदेश सभासद् श्यामराजा महत र भिरकोट उद्योग वाणिज्य संघका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीको टोलीले आज महोत्सवको अवलोकन गरेको संयोजक ओझाले जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् ।
त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।




Comments are closed.