मोरङ । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँचअभिवृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि विराटनगरको जैन भवनमा अपाङ्गता समावेशी रोजगार मेला २०२२ प्रारम्भ भएको छ ।
करुणा फाउन्डेसन नेपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासङ्घ र द लेप्रोसी मिशन नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त रोजगार मेलाको उद्घाट सत्रलाई संबोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कायम गरी संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताए । मुख्यमन्त्री राईले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक तालिम तथा सीप प्रदान गर्नु सरकारको दायित्व भएकाले यस सम्बन्धमा आगामी दिनमा कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने समेत वताए।
कार्यक्रमलाई संवोधन गर्दै सामाजिक विकासमन्त्री राजन राईले सरकार, गैरसरकारी संस्था तथा निजी क्षेत्रले अपाङ्गता भएका व्यक्तिको रोजगारीका लागि आवश्यक सहयोग गर्नु पर्ने धरणा राख्दै प्रदेश भित्र निर्माण हुने पूर्वाधारहरू सबैको पहुचयुक्त हुनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले महासङ्घ आबद्ध सदस्यलाई अपाङ्गता भएका व्यक्तिहरुको दक्षता र शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध गराउन प्राथमिकता दिएको धारणा राखे।
करुणा फाउन्डेसन नेपालका सह निर्देशक योगेन्द्र गिरीले प्रदेश नं. १ मा अपाङ्गता समावेशी रोजगार मेलाको पहिलो पटक आयोजना गरी रोजगार दाता र रोजगारीको अवसरको खोजीमा रहेका अपाङ्गता भएका व्यक्तिलाई एकै थलोमा ल्याइएको र यसवाट थुप्रै अपाङ्गता भएका व्यक्तिहरूले अवसर पाउने कुरामा आफु विश्वस्त रहेको वताए । प्रदेश सरकार, स्थानीय तहहरू, करूणा फाउण्डेसन नेपालको आर्थिक साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्रवविधिक साझेदारीमा प्रदेश नं. १ का ७८ स्थानीय तहहरूमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको र उक्त कार्यक्रम मार्फत आगामी दुई महिना भित्रमा प्रदेश नं. १ का ६४ स्थानीय तहहरूमा अपाङ्गता सहायता कक्षको स्थापना भइ ६४ जना अपाङ्गता भएका योग्य व्यक्तिहरूले रोजगारी पाउने वताए ।
द लेप्रोसी मिशनका प्रमुख शोभा कँडेल, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश १ का अध्यक्ष नवीनचन्द्र ढुङ्गेल र राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले लगायतले मुलुकको विकासमा अपाङ्गता व्यक्तिको रोजगारीले सहयोग पुर्याउने धारणा राखे।
रोजगार मेलाको पहिलो दिन शुक्रबार १० जिल्लाका जम्मा २४८ जना अपाङ्गता भएका व्यक्तिहरूले ३३ रोजगारदाताहरूले स्थापना गरेका स्टलमा भ्रमण गरी अन्तर्वार्ता तथा परामर्श सेवामा सहभागि रहेको करूणा फाउण्डेसन नेपालका बरिष्ठ वित्त तथा प्रशासन व्यवस्थापक दिनेश ढकालले जानकारी दिए । रोजगार मेला भोलि सम्म सञ्चालन हुनेछ ।





Comments are closed.