पोखरा । १८ औं संस्करणको लेखनाथ महोत्सवमा आज दसौँ दिनसम्म आइपुग्दा थामि नसक्नु भीड छ । पुस ७ गतेदेखि सुरु भएको महोत्सवमा आज सार्वजनिक बिदाका दिन दर्शकको उपस्थिति उल्लेखनिय रहेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् ।
दर्शकको महोत्सवप्रतिको आकर्षण र भीडले त्यहाँका व्यवसायी निकै उत्साहित भएका छन् । पुस १८ गतेसम्म चल्ने महोत्सवमा दर्शकको साथ अपेक्षा गरेभन्दा राम्रो पाएको संयोजक ओझाले बताए । महोत्सवको दसौँ दिन आज ४० हजार दर्शकले अवलोकन गरेका छन् । जसका कारण महोत्सवभित्र रहेका व्यवसायीहरुले निकै राम्रो कारोबार गरेका छन् । आज एकैदिन १ करोड ५० लाखको कारोबार भएको संयोजक ओझाले जानकारी दिए ।
महोत्सवको दसौँ दिनसम्म कुल २ लाख ४० हजार दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक ओझाले जानकारी दिए । महोत्सवको पहिलो दिन ३० हजार, दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार गरी कुल २ लाख ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् ।

त्यस्तै, महोत्सवमा हालसम्मको कुल कारोबार रकम ९ करोड नाघेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड २० र १६ गते १ करोड ५० लाख गरी कुल कारोबार रकम ९ करोड ६० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।
महोत्सवमा मनोरञ्जनका लागि दैनिकजसो रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् । आज भएको लोकदोहोरी कार्यक्रमतर्फ गायकहरु श्याम राना, शिवहरि ढुंगाना, अमृत सापकपोटा, प्रिन्स लम्साल गायिकाहरु कमला घिमिरे, निशा पोख्रेल, आशा विसी, मधु चापागाईंको प्रस्तुति रहेको थियो भने हाँस्यव्यांग्य तर्फ सापटी काका र घिरौलाको प्रस्तुति थियो । त्यस्तै, साँझको लाइभ कन्सर्टतर्फ राजेश पायल राई, बसन्त सापकोटा, अनु चौधरीको प्रस्तुति थियो ।
त्यस्तै, आइतबार हुने लोकदोहोरी कार्यक्रमतर्फ बद्री पंगेनी, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ गायिकाहरु शान्ति श्री परियार, सुनिता नेपाली, मन्जु बिक, माया केसीको प्रस्तुति रहनेछ । त्यस्तै, साँझको लाइभ कन्सर्टतर्फ एलिना चौहान, देवेन्द्र बव्लु एण्ड प्रत्यक्ष बेण्ड, टुकी (र्याप)को प्रस्तुति रहनेछ ।

महोत्सवमा प्रत्येक दिन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले अवलोकन गरिरहेका छन् । आज विजयपुर व्यारेकका सहायक पृतनापतिलगायतकाले अवलोकन गरेका छन् । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।
यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।




Comments are closed.