चितवन । यहाँ गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो ।
महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष नुनारायण श्रेष्ठले सङ्घको रोजगार तथा व्यवसाय सूचना केन्द्रमार्फत युवालाई उद्यमी र रोजगारीमा लगाइने बताए। उनले भने, “उद्यम गर्न चाहनेलाई आवश्यक सहजीकरण गरी उद्यमी बनाइने छ।”
सङ्घले यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा महोत्सव आयोजना गर्न लागेको छ। शिक्षा, स्वास्थ्य, कृषि र बसोबासका लागि चितवन भन्ने मान्यतालाई आत्मसात् गर्दै महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ। सङ्घले आज यहाँ पत्रकार सम्मेलको आयोजना गरी हरेक दुई÷दुई वर्षमा हुँदै आएको यस महोत्सव १४ औँ संस्करणका रूपमा गर्न लागिएको जानकारी दिएको छ।

विसं २०५३ देखि आयोजना हुँदै आएको यस महोत्सवले कोभिड–१९ पछि सिर्जित परिस्थितिमा यहाँको पर्यटनलाई केन्द्रविन्दुमा राखेर प्रचारप्रसार गर्नेछ । महोत्सवमा चितवनको विविधताको प्रतिनिधित्व गर्ने कृत्रिम पार्क निर्माण गरिने श्रेष्ठले जानकारी दिए ।
कोभिड र तत्पश्चात् विश्व परिवेशमा व्याप्त आर्थिकमन्दीका कारण विक्षिप्त आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी, व्यवसायी र आमसर्वसाधारणलाई आर्थिक पुनःरुत्थानको एउटा नयाँ दियो बाल्न महोत्सव सहयोगी बन्ने आयोजकले विश्वास लिएको छ।
महोत्सवमा सात वटा विशेष स्टल, डोम र कृषि परिसर, अटो परिसर, सूचना प्रविधि परिसर, मेडइन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल एवं विभिन्न सङ्घ संस्थाका स्टल, रेष्टुराँ रहने छन्।
महोत्सवमा चार सय ५० स्टल रहने छन् । आन्तरिक तथा बाह्य पर्यटकसहित पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको छ। महोत्सवकै अवसरमा पुस २८ गतेदेखि माघ २ गतेसम्म क्याम्पा चौरमा फुड फेस्टिभलको आयोजना गरिने छ। रासस




Comments are closed.