सालको काठको अबैध तस्करी बढ्यो

त्रिशूली । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट अबैध रुपमा कटान गरेको सालको काठ सहित संलग्न दुई जना व्यक्तिलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

यही शुक्रबार सूर्यगढी गाँउपालिका–३ का वडाध्यक्ष समेत रहेका पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्निचरबाट एकसय छ थान चिरान गरेको अबैध सालको काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उक्त काठ ‘बैधानिक हो’ भन्ने प्रमाण पेश गर्न काठ मिलका सञ्चालक थापामगरलाई डिभिजन वन कार्यालयले पत्र पठाएको छ । उनीबाट जवाफ आउन बाँकी रहेको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।

शुक्रबार नै सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिणामको सालको काठ सहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठ सहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीय चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ ।

footwear zone

उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिए । त्यसलगत्तै यही शनिबार राती ककनी गाँउपालिका–७ चतुरालेहुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव–डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागी आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ ।
जिल्लाको लिखु गाँउपालिका–३ को सूर्यमतीमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ ।

नेपाल सरकारले विसं। २०५८ सालदेखि निजी जग्गाको सालको काठ काट्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ भने सामुदायिक वनमा भने कार्ययोजना अनुसार कटान गर्न पाइने भनिएको छ । कटान र ओसारपसारको लागी वन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।
“पछिल्लो समयमा विभिन्न स्थानमा एकैपटक ठूलो परिणाममा भेट्टिएको सालको काठ कटानको लागी अनुमति नलिएकाले अपराध भएको देखिन्छ ।” डिभिजनल वन अधिकृत कोइरालाले भने “निर्वाचन पछिको सक्रमणकालीन समय र जिम्मेवार पक्षहरुको हेपाहा प्रवृत्तिले वन संरक्षणमा बढाएको चुनौती रोक्न कानून अनुसारको अधिकतम कारबाहीको दायरामा ल्याउन तल्लिन छौ ।”

वनसंग सम्बन्धित मुद्धा हाल अदालत मार्फत कारबाही अघि बढ्ने भएकाले नियन्त्रणमा लिएका व्यक्ति र बरामद काठको कारबाही अघि बढाउन नुवाकोट जिल्ला अदालतमा पेश गरिएको छ । चोरीतस्करी रोक्न सामुदायिक वनको उपभोक्ता, प्रहरी, वन रक्षक सहित सरोकारवाला उपभोक्ता सहितको भूमिका प्रभावकारी बनाउन विशेष कार्य योजना निर्माणको तयारीमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।

You might also like

Comments are closed.