काठमाडौं । जग्गाको वर्गीकरण सकाएसँगै तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गरेका छन् ।

जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइनेछ । यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत हुने अध्यक्ष श्रेष्ठले बताए ।
विसं २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताए ।




Comments are closed.