राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।६ वर्षे अवधिका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘६’ बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको हो।

राष्ट्र बैंकले चैत २२ गते निष्काशन हुने उक्त ऋणपत्र चैत २१ गते अपरान्ह ३ बजे बोलकबोल हुने समेत जनाएको छ । इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन्।

प्रतिस्पर्धीले निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्व ५० करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् १ अर्व ५० करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन्।

footwear zone

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने सूचनामा उल्लेख छ।

बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिन्छ।

 

You might also like

Comments are closed.