कटारी । उदयपुरको कटारी नगरपालिका–२ का तीन सय किसानले दिगो सिँचाइ सुविधा पाएका छन् । सिँचाइ विकास डिभिजन कार्यालय उदयुरको कुल रु चार करोड ४९ लाख लागतमा खोक्सेली कुलो निर्माण भएसँगै किसान हर्षित छन् ।
आयोजनाअन्तर्गत तावाखोलामा पर्ने सिमानपुरबाट एक हजार सात सय मिटर लामो पक्की कुलो र तीन हजार तीन सय मिटर कच्ची कुलो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालय उदयपुरका प्रमुख देव मण्डलले बताए । विगतमा एक बाली उब्जाउनसमेत समस्या हुने किसान सिँचाइ सुविधा उपलब्ध भएपछि वर्षैभरि खेतीपातीमा व्यस्त हुन थालेका छन् ।
दिगो कुलो निर्माण भएपछि बर्सेनि कुलो मर्मत गर्न जाने समयसमेत बचेको छ भने वर्षभरिको दुःखबाट किसान मुक्त भएका छन् । कुलो निर्माण भएसँगै समयको बचत, उब्जनी बढी हुन थालेसँगै यहाँका किसान खुसी भएका हुन् ।

वडाको सिमानपुर, कल्याणपुर, ददरिया र खोक्सागाउँका कृषक यो आयोजनाबाट लाभान्वित भएका छन् । यस योजनाबाट तीन सय घरधुरीका एक हजार नौ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा पुगेपछि तावाखोलासँगैका खेतमा राम्रो उब्जनी सुरु भएको छ ।
योजनामा परेपछि कुलो निर्माण गर्न स्थानीयको अग्रसरतामा काम समयमा सम्पन्न भएको वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । खोक्सेली कुलो निर्माणले किसानलाई राहत पुगेको पनि उनको भनाइ छ । कुलो निर्माणसँगै स्थानीयले मौसमअनुसारको बाली नियमित लगाउन थालेका छन् । रासस




Comments are closed.