छैटौं चेम्बर एक्स्पो भुकुटीमण्डपमा शुरु

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहिबार शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन ।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीहरु लगायत जडिवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रदर्शनीमा राखिएका छन् । अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । छैटौं चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे ।

एक्स्पो उद्घाटनका अवसरमा बोल्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाई छ । उनले मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको समेत बताए ।

footwear zone

मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधीलाई बढाउन व्यापारमेला आयोजना गरिएको बताए । छैटौं व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिइने जनाएको छ ।

सम्वोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि बस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे । उनले भने, ‘‘अन्तराष्ट्रिय स्तरको एक्स्पो स्थल स्थापना गर्न सकिए यसले मुलुकको निर्यात व्यापारलाई थप टेवा पुग्छ भन्ने सरकार समक्ष आग्रह गर्दछु ।’ मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।
‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ,’ उनले भने ।

चेम्बर एक्स्पोलाई सम्वोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए । उनले भने, ‘माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपुर्ण सहयोग गर्छ भन्ने मेरो विश्वास छ । यस्ता खाले व्यापार मेला केन्द्रखेखि स्थानीय तहसम्मै गर्नका लागि सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको छ, ।’
उत्पादन र उपभोक्तालाई एकैठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाई छ । मुलुकमा ९ खर्व रुपैयाँ भन्दा बढीको निर्यात क्षमता भएपनि यसको पहिचान हुन नसकेको उनले बताए ।

मेला आज बिहीबारदेखि आगामी ८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसंगै भारत, बंगलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।

You might also like

Comments are closed.