काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (नेशनल गभर्निङ काउन्सिल) र नेशनल गुड्स करियर एसोसिएसनका अध्यक्ष तथा युवा व्यवसायी रितेश लामिछानेले सरकारले आगामी आर्थिक वर्षलाई ल्याएको बजेट युवाहरुलाई आशा जगाउने खालको रहेको बताएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गरेपछि प्रतिक्रिया दिदै अध्यक्ष लामिछानेले एक अर्ब प्लसको स्टार्ट अप कोषका लागि रकम बिनियोजन हुनु राम्रो पक्ष रहेको बताए । ‘सरकारले हरेक बजेटमा यस्तो कोषहरु राख्ने गर्छ । तर युवा उद्यमीहरूले यो कोषलाई व्यवहारिक रुपमा प्रयोग गर्नसक्ने गरी कुनै कार्यविधि बन्न सकेको छैन ।’
स्टार्टअपका लागि इन्क्युवेशन सेन्टर स्थापना गर्नका लागि बजेट बिनियोजन भएको यस युवाहरुमा आशा जगाएको बताउँदै उनले कार्यान्वयन प्रभावकारी हुनुपर्ने बताए ।

‘बजेटले स्टार्टअपमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख गरेको छ,’ उनले भने, ‘उपयुक्त रोडम्याप बनाएर यसलाई व्यवहारमा कार्यान्वयन गर्न जरुरी छ ।’
नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । न्यूनतम १०० रुपैयाँमात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी दर्ता गर्न सकिने व्यवस्थालाई पनि बजेटको राम्रो पक्षका रुपमा लिनुपर्ने उनले बताए ।
युवा उद्यमीलाई लक्षित गरी सहुलियत कर्जाको व्यवस्था गरिएको छ । यसलाई पनि कार्यान्वयन गर्न सक्नुपर्ने बताउँदै उनले प्रोजक्ट लोन बिना धितो उपलब्ध गराउन माग गरे ।
बजेटमा इ–कमर्स, आउट सोर्सिङलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । उद्यमलाई प्रविधिसँग जोड्नलाई प्रोत्साहन गरिएको छ । विदेशी मुद्रा राजस्वको १० प्रतिशत विदेशमा खर्च गर्न दिँदा उनीहरुको व्यवसाय बढाउन सहयोग पुग्ने लामिछाने बताउँछन् ।
समग्रमा बजेटले युवा उद्यमीहरुको मागलाई सकारात्मक रुपमा सम्बोधन गरेको बताउँदै लामिछानेले बजेटमा समेटिएको विषयबस्तुको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण रहने धारणा राखे ।




Comments are closed.