इप्पानमा आवद्ध महिला उद्यमीसँग अमेरिकी सरकारको ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिप वारे छलफल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा आवद्ध महिला उद्यमीहरूलाई अमेरिकी सरकारले दिने दुई वटा स्कोलरशिप कार्यक्रमको वारेमा जानकारी दिइएको छ । मंगलवार इप्पानमा आयोजित छलफल सेसनमा ‘यूएसईएफ नेपाल’ले फुलब्राइट (Fulbright) र हमफ्रे (Humpherey) स्कोलरशिप प्रोग्रामको वारेमा जानकारी गराएको हो । अमेरिकी सरकारको सहयोगमा कम विकसित मुलुकको मानव पूँजी विकासका लागि शुरु गरिएको यो कार्यक्रम नेपालमा यूएईएफले सञ्चालन गर्दै आएको छ ।
फुलब्राइट स्कोलरशिप पाउनेले २ वर्ष अमेरिकामा अध्ययन गर्न पाउँछन् भने हमफ्रे स्कोलरशिप पाउनेले १० महिना अमेरिकामा बसेर अध्ययन गर्न पाउँछन् । दुवै स्कोलरशिपमा सबै खर्च अमेरिकी सरकाले नै ब्यहोर्ने गरेको छ ।

यूएसईएफ नेपालकी सिनियर प्रोग्राम अफिसर रक्षा महर्जनले दुवै स्कोलरशिपको वारेमा आवेदन प्रक्रिया, आवेदन गर्दा ध्यानदिनुपर्ने कुराहरु,छनौट प्रक्रिया, भिसा प्रक्रिया, यूएसईएफको सहयोग, अमेरिका बसाइ लगायतका विषयमा विस्तृत जानकारी दिएकी थिइन् ।

फुलब्राइट स्कोलरशिपमा आवेदन दिनका लागि कम्तिमा स्‍नातक तह उतिर्ण गरेको हुनुपर्छ । सैद्धान्तिक विषय (मानविकी तथा सामाजिक विज्ञान संकाय) अध्ययन गरेकाहरुले वार्षिक प्रणाली अन्तर्गत भए कम्तिमा ५४ र सेमेस्टर प्रणालीमा भए कम्तिमा ६५ प्रतिशत अंक ल्याएको हुनुपर्छ । प्राविधिक विषय अध्ययन गरेकाहरुले वार्षिक प्राणलीमा भए कम्तिमा ६२ प्रतिशत र सेमेस्टर प्रणालीमा भए कम्तिमा ७५ प्रतिशत अंक ल्याएको हुनुपर्छ ।

footwear zone

हमफ्रेमा आवेदन दिन भने कम्तिमा स्नातक उतीर्ण गरेर ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकिएको छ । अहिले दुवै कार्यक्रमको लागि जुलाइ अन्तिमसम्म आवेदन खुला गरिएको पनि यूएसईएफले जानकरी दिएको छ ।

कार्यक्रममा फुलब्राइट स्कोलरशिप पाएकी ऊर्जा नेपालकी स्वेता धौभादेल र हमफ्रे स्कोलरशिप पाएका शहरी विकास मन्त्रालयका उपसचिव झप्परसिंह विश्वकर्माले नेपालमा स्कोलरशिपमा आवेदन दिएदेखि अमेरिकामा बसेर अध्ययन गर्दासम्मका आफ्ना अनुभव सुनाएका थिए । यो स्कोलरशिप पाउनेहरूले अमेरिकाबाट फर्केर आफूले सिकेको ज्ञान र सिपलाई कम्तिमा २ वर्ष नेपालमा बसेर सिकाउनुपर्ने व्यवस्था छ ।

यो कार्यक्रममा विश्वका १५५ देशबाट वर्षेनी ४ हजार विद्यार्थीले स्कोलरशिप पाउँदै आएकोमा नेपालबाट वर्षेनी फुलब्राइटमा ४ जना र हमफ्रेमा २ देखि ३ जना विद्यार्थी यो कार्यक्रममार्फत अमेरिका गइरहेका छन् ।

कार्यक्रममा इप्पानबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष रामप्रसाद आचार्य, सचिव कविता पोखरेल, महासचिव बलराम खतिवडा, सदस्यहरू इशा श्रेष्ठ र सुमन जोशी लगायत ऊर्जा क्षेत्रका काम गरिरहेका २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

ऊर्जा क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले इप्पानले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको र आगामी दिनमा धेरै जना महिला उद्यमी सहभागी गराउने गरी यूएसईएफसँग थप कार्य्रक्रम गर्ने इप्पानको भनाइ छ ।

You might also like

Comments are closed.