ब्युटिसियन संघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत एक जना कर्मचारीले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । सुष्मा महराले चाबहिलस्थित् केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी ती कर्मचारीले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघको आपत्ति छ ।

ती कर्मचारीले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनियतामाथि आँच आएको भनी महानगरीय प्रहरी बृत गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको विज्ञप्तिमा भनिएको छ । सहमतिपछि पनि ती कर्मचारीले आफ्नो पदीय दुरूपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरी झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ ।

‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरूपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाईसमेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै प्रक्राउ गरी गैरकानुनी रूपमा थुनामा राख्नका लागि जोडबल गरिआएको कुरा जानकारी हुन आएकाले यस गैरकानुनी कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघकी महासचिव शशि शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

footwear zone

ती कर्मचारीले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ । यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ ।

‘यस्तो गैरकानूनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्वन गरी पदीय आचरणको दुरूपयोगको कार्यमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आवद्ध रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा व्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिनुहुन सम्बन्धित् सरोकारवाला पक्षहरुसमक्ष संघ जोडदार माग गर्दछ,’– विज्ञप्तिमा थप भनिएको छ ।

फेसियल हाउसकी सञ्चालिका महराले सेवा लिन आएकी कर्मचारीले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताइन् । सिंगो व्यवसाय र पेशाप्रति नै लाञ्छना लगाएको उनको भनाई छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताइन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौं जिल्ला अध्यक्ष गंगा नकर्मीले पेशामाथि नै आँच आउने काम भएको भन्दै आपत्ति जनाइन् ।

नेपाल व्युटिसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्काले आफ्नो पेशा÷व्यवसायमाथि भएको आक्रमणमका विरुद्ध गत ३ गतेदेखि निरन्तर रुपमा लागिराखेको भएपनि कुनै ठाउँबाट सहयोग पाउन नसकेको बताइन् । उनले आफूहरुको पेशा व्यवसायमाथि राज्यले सम्मान गर्न नसकेको बताइन् ।

नेपाल ब्युटिसियन संघले उक्त कार्यविरुद्ध भोलि (मंगलबार) बाट चरणबद्ध आन्दोलनमा उत्रिने कार्यक्रम तय भएको जनाएको छ । भोलि विहान ११ बजे संघले माइतीघर मण्डलामा बिरोध तथा धर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले जानकारी दिइन् ।

You might also like

Comments are closed.