काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा ‘स्पिड मेन्टरिङ सेसन¬’ कार्यक्रम सम्पन्न गरेको छ । अनुभवी उद्यमीको उद्यम तथा व्यावसायिक अनुभव सुन्ने र सुनाउने अवसर बन्यो उल्लेन्स स्कूल सातदोबाटोमा आयोजित उक्त कार्यक्रम ।
कार्यक्रममा ज्योती ग्रुपका निर्देशक सौरभ ज्योती र अभिनेता, निर्माता तथा उद्यमी संजोग कोइरालाले उद्यममा युवाको आकर्षण हुनुपर्नेमा जोड दिए । उनीहरुले सहभागीलाई आफ्नो उद्यम तथा व्यावसायिक अनुभव सुनाउँदै उद्यमशील बन्न सुझाव दिए ।
कार्यक्रममा मञ्चका पदाधिकारीसँगै अन्य युवा उद्यमी र उद्यमी बन्न चाहने युवाहरु पनि सहभागी थिए । कार्यक्रममा सहभागी हुनका लागि ७० जना युवाले आवेदन दिएकामा २५ जना छनोट भएर सहभागी भएको मञ्चले जनाएको छ । सहभागीहरुले उल्लेखनीय क्षमता र उत्साह प्रदर्शन गरेको र उनीहरुलाई उद्यममा लाग्न मञ्चले सहयोग गर्ने मञ्चका काठमाडौं च्याप्टर अध्यक्ष प्रार्थना साखःले बताइन् ।

कार्यक्रमको मुख्य आकर्षण ‘स्पिड मेन्टरिङ सेसन’ रह्यो । युवाहरुलाई कुशल तथा अनुभवी उद्यमीहरूसँग जोड्ने प्लेटफर्म पनि कार्यक्रम बनेको छ । आवेदकमध्येबाट सहभागी युवालाई आवश्यक ज्ञान, अन्तरदृष्टि र मार्गदर्शनले आत्मविश्वास र दृढ संकल्पका साथ उनीहरूको उद्यमशीलता यात्रा सुरु गर्नको लागि उत्प्रेरणा गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको साखःले बताइन् । ‘युवालाई उद्यममा लाग्न मञ्चले सधैं प्रेरणा प्रदान गर्छ,’ उनले भनिन् ।





Comments are closed.