सुरेन्द्र पौडेल, पोखरा । गण्डकी प्रदेशमा २ वटा ठूला औद्योगिक क्षेत्र स्थापना हुने भएका छन् । गण्डकी प्रदेश सरकारको पञ्चवर्षीय योजनामा समेटिएका २ वटा औद्योगिक क्षेत्रको कामले पछिल्लो समय गति लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले औद्योगिक क्षेत्रको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको हो ।
तनहुँ र कास्कीको पुँडीटारमा ३ हजार १ सय ३२ रोपनी जग्गामा र नवलपुरको लोकाहाखोलामा १ सय ४१ बिगाह जग्गामा औद्योगिक क्षेत्र निर्माण हुन लागेको हो । सरकारले २०७६÷०७७ देखि २०८०/०८१ सम्मको पञ्चवर्षीय योजना अगाडि बढाएको थियो । यो योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सम्पन्न भइसकेको मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । अबको ६ महिनामा वातावरणीय प्रभाव मुल्यांकन (इआइए) को काम सकिने उनले बताए ।
पुँडीटारमा २ देखि ३० रोपनीसम्मका १४६ प्लट तयार हुनेछन् । नवलपुरको औद्योगिक क्षेत्रमा १३ देखि ३७ रोपनीसम्मका ४९ वटा प्लट हुनेछन् । औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थासमेत भइसकेको छ । पुँडीटारमा निर्माण हुने औद्योगिक क्षेत्र तनहुँको शुक्ला गण्डकी नगरपालिका र पोखरा महानगरपालिकामा पर्छ । लोकाहाखोला बन्ने औद्योगिक क्षेत्रले नवलपुरको कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ छुन्छ । स्थानीय तहकोसमेत समन्वय र सहयोगमा सबै जग्गा नेपाल सरकारको नाममा ल्याउने काम भइसकेको छ । लामो समयदेखि सेतो पूर्जा लिएर बस्दै आएका केही घरपरिवारलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउने गरी जग्गा नेपाल सरकारको नाममा ल्याउने काम सम्पन्न भइसकेको हो । यी औद्योगिक क्षेत्रको लागि जग्गा व्यवस्थापनमा कास्कीको पोखरा महानगरपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका, नवलपुरको कावासोती नगरपालिका र देवचुली नगरपालिकाले सहजीकरण र सहयोग गरेका छन् ।

गण्डकी प्रदेश सरकारले बनाउन लागेको औद्योगिक क्षेत्रको कामले छिट्टै गति लिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले बताए । गण्डकी प्रदेशमा निजी क्षेत्रलाई आकर्षण गर्न, लगानी बढाउन र साना तथा मझौला उद्योगहरु स्थापना गर्न नयाँ बन्ने औद्योगिक क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने उनले बताए । पोखराको औद्योगिक क्षेत्र बजारको बीचमा भएको र साँघुरोसमेत भइसकेकाले निजी स्तरबाट पनि नयाँ औद्योगिक क्षेत्रको माग हुँदै आइरहेको थियो ।
अब इआइए प्रतिवेदनपछि औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने मन्त्रालयले जनाएको छ । नेपाल सरकारको नाममा आएको जग्गालाई प्रदेश सरकारले प्राप्तीका लागि संघीय सरकारलाई अनुरोध गरिसकेको छ । संघीय सरकारले पनि उक्त औद्योगिक क्षेत्र निर्माणका लागि प्रदेश सरकारलाई जग्गा प्रदान गर्ने निर्णय गरी वन मन्त्रालयमा फाइल पठाइसकेको छ । ‘अब जग्गा प्राप्तीपछि औद्योगिक क्षेत्रका लागि आवश्यक संरचना निर्माणको काम अगाडि बढ्नेछ,’ मन्त्री थापाले भने ।

गण्डकी प्रदेशमा २ वटा औद्योगिक क्षेत्र स्थापनाका हुने तयारीसँगै लगानीका लागि निजी क्षेत्र उत्साही रहेको मन्त्री थापा बताउँछन् । ‘प्रदेशको भोगाधिकारसहित जग्गा प्राप्तीका लागि हामी प्रधानमन्त्रीकोमा समेत डेलिगेसन गइसकेका छौं । प्रधानमन्त्रीले पनि यसलाई सकारात्मक रुपमा लिएर छिटो टुङ्ग्याउनु पर्ने बताउनुभएको छ । इआईएको काम पनि अगाडि बढिसकेको छ । डिपिआर भइसकेको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्र संचालनका लागि धेरै उद्योगी व्यवसायीले आवेदन पनि दिइसक्नुभएको छ । औद्योगिक क्षेत्रको श्रेस्ता समेत हाम्रो नाममा आइसकेको छ । केन्द्रबाट भूअधिकारको आदेश पनि छिटो आओस् भन्ने हाम्रो कुरा हो ।’
औद्योगिक क्षेत्रका लागि आवश्यक संरचना प्रदेश सरकारले एक वर्षभित्र निर्माण गर्ने लक्ष्य राखेको छ । त्यसमा कार्यालय, हेल्थपोष्ट, क्वाटर, पार्किङ, कम्प्युनिटी हल, वार्ड हाउस, खुल्ला ठाउँ, सडक लगायतका संरचना निर्माण हुनेछन् ।

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगले जग्गा लिजमा लिएर आफू अनुकुल र आवश्यकता अनुसारको संरचना निर्माण गर्न सक्नेछन् । सरकारको मापदण्ड भित्र रहेर उद्योगहरुले संरचना तयार गरी उद्योग स्थापना गर्न सक्ने जनाइएको छ । समग्र गण्डकी प्रदेश र नेपालको औद्योगिक विकासमा यी औद्योगिक क्षेत्रले योगदान पुर्याउने विश्वास गरिएको छ ।
पुँडीटारमा निर्माण हुने आद्योगिक क्षेत्रले समग्र पोखराको विकासमा योगदान पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘जग्गा नेपाल सरकारको नाममा ल्याउन हामीले भूमिका खेलेका छौं । अब औद्योगिक क्षेत्र निर्माणको काम छिटो भन्दा छिटो हुनुपर्छ,’ उनले भने । पुँडीटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि पोखरा महानगरले आफ्नो तर्फबाट सक्दो योगदान गर्नेसमेत उनले बताए । औद्योगिक क्षेत्र स्थापनाका लागि शुक्लागण्डकी नगरपालिकाले पनि अपनत्व लिने गरी काम गरिरहेको बताउँछन् शुक्ला गण्डकी नगरपालिका तनहुँका मेयर कृष्णराज पण्डित । उक्त औद्योगिक क्षेत्रमा शुक्ला गण्डकी नगरपालिका वडा नं. ९ को १२ सय भन्दा बढी रोपनी जग्गा पर्छ ।

रोजगारीका अवसर सिर्जना गर्न, स्थानीय उत्पादनको बृद्धि गर्न, उपभोक्ता र उत्पादकहरुलाई जोड्न औद्योगिक क्षेत्रले योगदान पुग्ने उनको भनाइ छ । शुक्लागण्डकी पोखरासँग जोडिएकाले मिनी पोखराका रुपमा हेर्न सकिने बताउँछन् पण्डित । दुवै ठाउँको विकासमा यो औद्योगिक क्षेत्रले योगदान पुग्ने र भूगोल तथा सडक सञ्जालका दृष्टिले पनि औद्योगिक क्षेत्र उपयुक्त ठाउँमा रहेको पण्डितले बताए । ‘उत्पादनहरुलाई निकासी गर्न पनि उपयुक्त ठाउँ छ,’ उनले भने ।

गण्डकी प्रदेशमा बन्ने दुई वटा औद्योगिक क्षेत्रको काम तिब्र गतिमा अगाडि बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । नवलपुरमा बन्ने औद्योगिक क्षेत्र प्रदेशकै गौरवको आयोजना रहेको र कास्की र तनहुँको सीमानामा बन्ने औद्योगिक क्षेत्रसमेत स्रोत व्यवस्थापन गरेर तयार हुने उनले बताए । प्रदेशको समग्र विकासमा यी योजनाले योगदान पुग्ने उनको विश्वास छ ।




Comments are closed.