नेपाल उद्योग परिसंघको टोली र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।

परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए । उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्‍याउन सहयोग गर्न पनि उनले चिनियाँ राजदूतसँग आग्रह गरे ।

अध्यक्ष अग्रवालले परिसङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआइटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागिएकोसमेत राजदूत सोङलाई जानकारी गराए ।

footwear zone

सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालले जलविद्युत्लगायत प्राकृतिक स्रोतको प्रयोगमार्फत विकास गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए । उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युत् प्रयोग बढाउनुपर्ने सुझाव दिए । विद्युत् प्रयोग बढ्दा आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । परिसङ्घले औद्योगिक विकासका लागि काम गर्दै आएको बताउँदै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए । रासस

You might also like

Comments are closed.