पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउन लेउवा संघका पूर्वअध्यक्षहरुको माग

विजयपुर खोलामा रहेको पुलको विकल्प खोज्न सुझाव

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुले पृथ्वी र सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले स्तरोन्ततिमा भएको ढिलाइले लेखनाथबासीको स्वास्थ्यमा गम्भीर असर परेको पनि जिकिर गरिएका छन् ।

९ जना पूर्वअध्यक्षहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै मुग्लिनदेखि पोखरासम्मको सडक स्तरोन्तति कार्यमा तीव्रता दिन ठेकेदार कम्पनी र सहजीकरणका लागि सडक डिभिजन कार्यालयसहित नेपाल सरकारसँग जोडदार माग गरेका छन् । मुग्लिन–पोखरा सडक स्तरोन्नतिको जिम्मा दुई चिनियाँ कम्पनीले पाएका छन् । आउँदो साउनभित्र सक्नुपर्ने गरी ठेक्का लिएका ती कम्पनीहरुको काम असाध्यै सुस्त छ ।राजमार्गमा स्तरोन्नतिको काम चलिरहँदा काठमाडौं–पोखराको यात्रा कष्टकर,लामो र खर्चिलो बनेको छ ।

संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यसहित पूर्वअध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बलराम ढकाल र निवर्तमान अध्यक्ष छत्रधर आत्रेयद्धारा जारी विज्ञप्तिमा विजयपुर खोलामाथि रहेको पुलका कारण भएको ट्राफिक जामको समस्याप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।

footwear zone

‘पुलमाथि रहेको बेली ब्रिजले अहिलेको सवारी साधनको चापलाई धान्न सकिरहेको छैन । एकतर्फी रुपले संचालन हुने सो पुलकै कारण सवारी साधनहरु घण्टौंसम्म रोकिनुपर्ने हाम्रो नियति बनेको छ,’विज्ञप्तिमा भनिएको छ,‘ हामीले यसअघि पनि दैनिक हजारौं सवारी साधन आवतजावत हुने तथा पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलको विकल्प खोज्न सरोकारवाला निकायहरुसँग अनुरोध गरेका थियौं तर समस्या ज्यूँकात्यूँ छ ।’ विज्ञप्तिमा दशैंको मुखमा नागरिकलाई सुविधा दिने गरी विजयपुरमा वैकल्पिक व्यवस्थाको माग पनि गरिएको छ ।

सडकको दुरावस्थाकै कारण पोखरा आउने पर्यटक अन्यत्र मोडिएको जिकिर गर्दै विज्ञप्तिमा भनिएको छ,‘पृथ्वी राजमार्ग निर्माण भएको यतिका वर्ष बितिसक्दा÷पोखराले बृहत स्वरुप ग्रहण गर्दा पनि एउटा पुल बन्न नसक्नु लज्जाको विषय हो । अतः हामी राजमार्गको स्तरोन्तति द्रूत गतिमा अगाडि बढाउन एवं विजयपुर खोलामाथि आधुनिक र फराकिलो पुल निर्माणको लागि संघ, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौं ।’

प्रेस विज्ञप्तिको पूर्ण पाठ संलग्न छ ।

प्रेस विज्ञप्ति

पोखरा महानगर र समग्र गण्डकीको ‘लाइफ लाइन’ मानिएका पृथ्वी तथा सिद्धार्थ राजमार्गको दुरावस्था एवं स्तरोन्नतिमा भइरहेको ढिलाइप्रति हामी लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

खासगरी बृहत्तर पोखराको मुख्य प्रवेशद्धार मानिने एवं संघीय राजधानी काठमाडौंसँग सम्बन्ध स्थापित गर्ने पृथ्वी राजमार्गको स्तरोन्नतिमा भएको ढिलाइले हामी लेखनाथबासीहरु आक्रान्त बनेका छौं । धुलो र धुँवाका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर पुगेको छ भने सडककै कारण ढुवानीको लागत बढ्दा यसले मूल्यवृद्धिमा पनि असर पु¥याएको छ । हामी मुग्लिनदेखि पोखरासम्मको सडक स्तरोन्ततिको जिम्मा पाएको कम्पनीसँग स्तरोन्नतिको काममा तीव्रता दिन माग गर्दै सहजीकरणको लागि सरोकारवाला सडक डिभिजन कार्यालयसहित नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

यही राजमार्गमा रहेको एवं पोखराको मुख्य सहरी क्षेत्र प्रवेशद्धारको रुपमा रहेको विजयपुर खोलामाथि रहेको पुलको अवस्थाले हामीलाई झन चिन्तित तुल्याएको छ । पुलमाथि रहेको बेली ब्रिजले अहिलेको सवारी साधनको चापलाई धान्न सकिरहेको छैन । एकतर्फी रुपले संचालन हुने सो पुलकै कारण सवारी साधनहरु घण्टौंसम्म रोकिनुपर्ने हाम्रो नियति बनेको छ । हामीले यसअघि पनि दैनिक हजारौं सवारी साधन आवतजावत हुने तथा पर्यटकीय नगरी पोखराको परिचयसँग जोडिएको पुलको विकल्प खोज्न सरोकारवाला निकायहरुसँग अनुरोध गरेका थियौं । तर,हाम्रो र नागरिकको मागको संवोधन भएको छैन । समस्या ज्यूँकात्यूँ छ । समस्या समाधान नहुँदा पोखरा आउने पर्यटकहरु अन्यत्रै मोडिएका छन् भने जो आएका छन्,उनीहरुले पनि सास्ती खेप्नुपरेको छ । जसको कारण पर्यटकीय सिजनमा पनि पोखरा शुन्यप्रायः छ । पोखराको चिनारी र आवश्यकतासँग जोडिएको विजयपुर खोलामाथि ४ लेनभन्दा फराकिलो पुलको आवश्यकता छ । पृथ्वी राजमार्ग निर्माण भएको यतिका वर्ष बितिसक्दा÷पोखराले बृहत स्वरुप ग्रहण गर्दा पनि एउटा पुल बन्न नसक्नु लज्जाको विषय हो । अतः हामी राजमार्गको स्तरोन्तति द्रूत गतिमा अगाडि बढाउन एवं विजयपुर खोलामाथि आधुनिक र फराकिलो पुल निर्माणको लागि संघ, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्दछौं । कम्तिमा दशैंको बेला नागरिकले पाएको सास्तीलाई नजरअन्दाज नगरियोस् र तत्कालका लागि भए पनि वैकल्पिक व्यवस्था गरियोस् भन्ने पनि हाम्रो माग छ ।अन्त्यमा, आउँदै गरेका नेपालीका चाडहरु दशैं,नेपाल संवत्,तिहार र छठको एकमुष्ठ शुभकामना पनि व्यक्त गर्दछौं । धन्यवाद !

लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट
चन्द्रकृष्ण कर्माचार्यः संस्थापक अध्यक्ष
चतुराखर अधिकारीः पूर्वअध्यक्ष
बाबुराम जमरकट्टेलः पूर्वअध्यक्ष
सुमन भट्टराईः पूर्वअध्यक्ष
बाबुराम गिरीःपूर्वअध्यक्ष
लक्ष्मीप्रसाद त्रिपाठीःपूर्वअध्यक्ष
कृष्णहरि भण्डारीः पूर्वअध्यक्ष
बलराम ढकालः पूर्वअध्यक्ष
छत्रधर आत्रेयः निवर्तमान अध्यक्ष

 

You might also like

Comments are closed.