काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आज यहाँ सुरु भएको छ । ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उनको भनाइ थियो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।
“नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ”, राष्ट्रपति पौडेलले भने, “हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस् ।”

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ ।
नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।
नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्दै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उनले आग्रह गरे ।
सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । “नेपालमा लगानीका लागि स्रोतको अभाव छ”, उनले भने, “नेपालमा लगानी गर्दा तपाइँहरुलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।” गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, सांस्कृतिक नागरिकता दिइने पनि उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । “नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौँ । सम्भावनाको खोजी गरौँ र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔँ”, उनले भने ।
संयुक्त राष्ट्रसंघका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए ।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए आइसिसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताइन् ।
एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवादज्ञापन गर्दै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे । रासस




Comments are closed.