१२ लाख रुपैयाँ राजस्व संकलन, २८ हजारलाई सचेतना

कर्णाली । सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा १२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ सेवनतर्फ रु ५० हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

“सप्ताहको अवधिमा प्रदेशभरमा २८ हजार एक सय ७९ जनालाई ट्राफिक सेचतना गराइएको छ”, प्रवक्ता भट्टराईले भने, “विभिन्न विद्यालय, क्याम्पस गरी चार सय ७० विद्यार्थीलाई पनि ट्राफिक नियमका बारेमा सचेत बनाएका छौँ ।”

footwear zone

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सात हजार सात सय ९६, सल्यानले पाँच हजार छ सय २२, दैलेखले तीन हजार आठ सय, कालीकोटले तीन हजार ६२, रुकुमपश्चिमले दुई हजार नौ सय ७०, जुम्लाले दुई हजार ११, जाजरकोटले एक हजार चार सय ५९, मुगुले छ सय ९२, डोल्पाले चार सय ३५ र हुम्लाले तीन सय ३२ जनालाई ट्राफिक सचेतना गराएको उनले बताए ।

असोज २४ गतेदेखि सञ्चालन भएको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । ‘६८औँ प्रहरी दिवस–२०८०’ को अवसर नेपाल प्रहरीको ब्याण्ड प्रदर्शनपश्चात् उक्त सप्ताहको समापन मंगलबार साँझ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

You might also like

Comments are closed.