नेपालमा कृषि, पर्यटन र उर्जामा गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यास) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७औं क्यासी सम्मेलनको सोमबार यहाँ उद्घाटनका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् ।

‘नेपालमा लगानीका अवसर बढदै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु,’ उनले भने ।

उनले आर्थिक विकासको तिब्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तराष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गरे ।

footwear zone

‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु,’ उनले भने ।

राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।

‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्,’ उनले भने ।

उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि रहेको बताए । ‘तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने, ‘दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला हुन् ।’

उनले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यसले आर्थिक वृद्धिलाई मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न उर्जा प्रदान गर्दछन्’, उनले भने । ‘व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।’

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए ।

‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौताहरूमा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ,’ राष्ट्रपति पौडेलले भने ।

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उनको धारणा थियो । उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ भने ।

प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने उनले विश्वास व्यक्त गरे । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे ।

‘म सबै सहभागीलाई भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्न चाहन्छु ।

आउनुहोस् सँगसँगै काम गरौं, हाम्रा अन्तर्दृष्टि बाँडौं र एक अर्कालाई हाम्रो व्यवसाय, हाम्रो समुदाय र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न प्रेरित गरौं,’ उनले भने । उनले ३७ औं क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुनेछ भने । यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन भन्ने उनले विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.