काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)ले भूकम्प पीडितहरुलाई सहयोग गर्ने भएको छ । भूकम्प पीडितहरुको उद्धार तथा राहत कोषमा सहयोग पुर्याउने उद्देश्यसहित फेकनले राहत कोष सुरु गरेको हो ।
फेकनले एक लाख रुपैयाँ जम्मा गरी कोषको घोषणा गरेको महासचिव महासचिव छबिन्द्र ओझाले जानकारी दिए ।
फेकनले दसैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा राहत कोषको घोषणा गरेको हो । फेकनका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा तथा उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फेकनका सदस्यहरु तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

भूकम्प पीडितहरुको राहत तथा उद्धारमा सानो भएपनि सहयोग गर्ने उद्देश्यले राहत कोष स्थापना गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । कोषमा सहयोग जम्मा हुने क्रम जारी रहेको फेकनले जनाएको छ ।
त्यसैगरी फेकनले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.सँगको सहकार्यमा ९ लाख रुपैयाँ बराबरको बिमा गरेको छ । आफ्ना सदस्यहरुको हितका लागि बिमा गरिएको फेकनले जनाएको छ ।

माछापुच्छ्रे बैंकसँगको सहकार्यमा फेकन सदस्यहरुलाई क्यु.आर. हस्तान्तरण गरिएको छ ।




Comments are closed.