केराखेती मासेर फूलखेती

नारायणगढ (चितवन) । चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन् ।

तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए । विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरिएको उनको भनाइ थियो ।

कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुन् । उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आएका छन् । “विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौँ”, उनले भने, “स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सक्छौँ ।”

footwear zone

उन्नति कृषि फार्ममार्फत एकै ठाउँमा तीन बिघा क्षेत्रफल जग्गामा फूलखेती गर्दै आएको बताउँदै पौडेलले यस स्थानमा ६० हजार सयपत्री फूलका बिरुवा रोपेको जानकारी दिए । उनले भने, “राम्रो बजारीकरण हुनसकेमा एउटा बिरुवाबाट हामीले रू ३० देखि ४० सम्म लिन सक्छौँ ।” दुई जना मिलेर फूलखेती सुरु गरेको भन्दै उनले यसका लागि करिब रू पाँच लाख ५० हजार लगानी भएको बताए ।

पौडेलले यसबाट रू १५ लाखको आम्दानी हुने आशा व्यक्त गरे । उनले भने, “पहिला केराखेती गर्दा रासायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको थियो । यसलाई विस्तारै सुधार्दै लगेर प्राङ्गारीकतर्फ लैजाने योजना छ ।” यहाँ सूर्यमुखी फूलको खेती पनि गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

रत्ननगर नगरपालिका–१५ घर भएका कृषक वाइबाले पौडेलसँग मिलेर पहिलोपटक साझेदारीमा फूलखेती गरेको बताए । विगतको वर्षमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढीमात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूल स्थानीय बजारमाभन्दा पनि काठमाडौं, पोखरा, बुटवललगायत सहरमा निर्यात गर्ने गरिएको जानकारी दिए ।

वाइबाले स्थानीय पालिकाले केहीमात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेकोे जानकारी दिए । “हाल दैनिक सात÷आठ क्विन्टल फूलको बिक्री हुँदै आएको छ ।” हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइबाले अब दुई÷तीन दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए । रासस

You might also like

Comments are closed.