लेखनाथ महोत्सवको तयारी तिव्र

लेखनाथ । ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाउन सफल लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुुस ५ देखि १६ गतेसम्म महोत्सव हुँदैछ । महोत्सवको तयारीलाई तिब्र बनाइएको सोमबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।

पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने आयोजकको भनाइ छ । ‘बिगतका वर्षहरुमा लेखनाथ महोत्सव सधैं दर्शकको रोजाईमा पर्दै आइरहेको छ,’ संघका प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले भने, ‘यस पटक महोत्सवलाई अझ बढी दर्शकको उपस्थिति रहने गरी तयारी गरिरहेका छौं ।’

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको महासचिव जानुका पराजुलीले जानकारी दिइन् । महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । ती मध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ ।

footwear zone

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ । ‘स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउनेछ,’ संघका अध्यक्ष बिनोद श्रेष्ठले भने । सबै जातजाति र संस्कृतिलाई समेटेर लेखनाथको पहिचान चिनाउन पनि महोत्सव सहयोगी हुने उनले बताए ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

You might also like

Comments are closed.