प्रदेशको पहिलो आयोजना बन्यो पौखोला सिमलबेशी सिंचाई आयोजना

सन्देश श्रेष्ठ

पोखरा २४ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ लुम्रेमा निर्माण गरिएको पौखोला सिमलबेशी सिंचाई आयोजना तोकिएको मिति भन्दा ५ महिना अगावै निर्माण सम्पन्न भएको छ । सरस्वती निर्माण सेवाले ११ महिनामा निर्माण कार्य सक्ने गरी ठेक्कामा लिएपनि ५ महिना अगावै निर्माण कार्य सम्पन्न गरेको हो । सम्झौता अनुसार सरस्वती निर्माण सेवाले २०७६ साल मंसीर २५ गते सिंचाई आयोजना निर्माण गरिसक्नुपर्ने थियो । २०७५ साल पुष २६ गतेदेखि काम थालेको सो निर्माण सेवाले असारमै काम सकेको हो ।

समयभन्दा छिटो निर्माण सम्पन्न भएको पौखोला सिमलबेशी सिंचाई आयोजना संघीयता पछि बनेको गण्डकी प्रदेशको पहिलो आयोजना भएको छ । प्रदेश सरकारले शिलान्यास गरेको र उद्घाटनपनि गरेको पहिलो आयोजना बन्न सफल भएको हो ।

footwear zone

पौखोला सिमलबेशी आयोजना १ किलोमिटर ६ सय ६० मिटरको सिंचाई आयोजना हो । ११९७ मिटर उचाइमा रहेको यो सिंचाई आयोजनाले ३४ हेक्टर जमिन सिञ्चित गर्ने बताइएको छ । यो सिंचाई आयोजना निर्माण गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गर्दा १ करोड ३५ लाख ३६ हजारको बनेको थियो । तर मन्त्रालयले ७६ टेण्डर खुलाएको थियो । सरस्वती निर्माण कम्पनीले ७३ लाख ४२ हजार ४ सय ६ रुपैयाँमा ठेक्का पारेको थियो । प्रदेश सरकार जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयको ४६ लाख ७९ हजार ६ सय १८, स्थानीय उपभोक्ता समितिको २३ लाख ४४ हजार ९ सय ७१ रुपैयाँ र ३ लाख १७ हजार ८ सय १७ रुपैयाँको लागतमा आयोजना निर्माण गरिएको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पोखराका प्रमुख ईञ्जिनियर किरण आचार्यले जानकारी दिए ।

सिंचाई आयोजनाको मुख्य पानीको श्रोत भनेको पौखोला हो । यस परियोजनाले लुम्रे सिमलबेशी क्षेत्रका करीब ३४ हेक्टर जमिन सिञ्चित हुने बताइएको छ ।

‘केहिका कारण राम्रा निर्माण व्यवसायी मारमा

 

सिंचाई आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफैले शिलान्यास गरेर आफैले उद्घाटन गर्ने अवसर पौखोला सिमलबेशी सिंचाई आयोजनाले दिएको भन्दै यो सम्पन्न योजना मध्येको प्रदेशकै पहिलो योजना भएको बताए । केहि निर्माण व्यवसायीका कारण राम्रा काम गर्ने निर्माण व्यवसायी मारमा परेको बताउँदै उनले छिटो, छरितो र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए । उनले सरस्वती निर्माण सेवाले समयमै सकेर गण्डकी प्रदेशकै शीर ठाडो पारेको उल्लेख गरे । उनले जुन निर्माण व्यवसायीले समयमा काम गर्दैन त्यसको हिसाबकिताब राखेर कार्वाही गर्ने चेतावनी दिए ।

मन्त्री बस्नेतले सिंचाईको ब्यबस्था गरिएकाले अब उत्पादन बढाउन स्थानीयलाई आग्रह गर्दै उत्पादन बढेमा आगामी वर्ष थप बजेट दिने घोषणा गरे । अब उत्पादन बढाउनुस्स,‘उनले भने,‘उत्पादन बढ्यो भने आगामी वर्ष थप बजेट दिन्छौं, उत्पादन नै बढेन, फेरिपनि जमिन बाँझो रह्यो भने बजेट कसरी थप्नु, थपिदैन ।’ विकासका लागि देश संघीयतामा गएको बताउँदै उनले आगामी ४ वर्ष भित्रमा लुम्रेसम्म पुग्ने बाटो पिच गरिसक्ने आश्वासन दिए ।

प्रदेश सांसद रामजी बरालले विकास र समृद्धीको बाधक ढिलासुस्ती र पुरानो सोंच र शैली भएको बताउँदै त्यो चुनौति सामना गरेर अघि बढ्न सकियो भनेमात्र विकास र समृद्धी प्राप्त हुने बताए । मुलुकप्रति जिम्मेवार बनौं,‘उनले भने,‘अब सोंच्ने तरिका बदलौं, काम गर्ने तरिका र शैली बदलौं, तबमात्र चुनौति सामना गर्न सकिन्छ ।’

माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले संघीयता पछि बनेको प्रदेश सरकारले तिव्र रुपमा विकास गरिरहेको भन्दै त्यसको प्रमाण पौखोला सिमलबेशी सिंचाई आयोजना भएको बताए ।

You might also like

Comments are closed.