मिस नेवा ११३८ को तयारी पूरा

पोखरा, १४ चैत ।

नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११३८ को तयारी पूरा भएको छ । प्रतियोगितामा २० जना सहभागी छन् । यसअघि चैत ३ गते हुने तय भएको प्रतियोगिताको फाइनल चैत १६ गते पोखरा सभागृहमा हुने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेपाल संवत ११३१ देखि सुरु भएको मिस नेवाले संस्कृति संरक्षणमा योगदान गरेको बताए ।

उनले मिस नेवा अचेल बजारमा भइरहने जस्तो सुन्दरी प्रतियोगिता नभएको उल्लेख गरे । उनले भने, ‘यो सांस्कृतिक प्रतियोगिता हो । नेवारी कला, संस्कार, भाषा, संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र नेवारी युवतीलाई विभिन्न सीप सिकाएर सक्षम बनाउनु यसका उद्देश्य हुन् ।’

footwear zone

प्रतियोगीलाई व्यक्तित्व, नेतृत्व विकासका तालिम, भ्रमण, नेवारी भाषा, समसामयिक विषयवस्तु आदिबारे प्रशिक्षण दिइएको प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले बताए । मिस नेवाका विजेतालाई ताजसहित, नगद ४० हजार, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिनेछ । फस्ट रनरअपले नगद २५ हजारका साथमा प्रमाणपत्र र उपहारहरु पाउने छिन् ।

सेकेन्ड रनरअपले नगद १५ हजारका साथमा प्रमाणपत्र र उपहारहरु पाउने छिन् । प्रतियोगीमध्ये उत्कृष्ट नेवारी भाषा प्रस्तुत गर्ने १ जनालाई विशेष उपाधिका साथ नगद ७ हजार, प्रमाणपत्र र उपहार प्रदान गरिनेछ । यसैगरी, वेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट पर्सनालिटी, बेस्ट फोटोजेनिक, भ्युअर्स च्वाइस र मिस फेन्डेलीले जनही ५ हजारसहित प्रमाणपत्र र उपहार पाउने छन् ।

संस्थाका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव आनन्द श्रेष्ठ र सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले गरेकी थिइन् ।

You might also like

Comments are closed.