विपक्षीको प्रश्नः कोरोनामा केन्द्रित हुने कि प्राविधिक शिक्षा प्रतिष्ठान विधेयकमा अल्झने ?

 

पोखरा । वर्तमान विषम परिस्थितिमा कोरोना केन्द्रित गर्नुपर्ने बेलामा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको ल्याइएको भन्दै विपक्षी कांग्रेसले सरकारको आलोचना गरेको छ । प्रदेशमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले बनेको विधेयक विधायन समितिमा दफावार छलफलपछि प्रदेश सभामा पुनः फर्किएपछि शुरु भएको दफावार छलफलमा भाग लिदै कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कोरोनासँग जुध्ने समयमा विधेयक आएको भन्दै सरकारको आलोचना गरेका हुन् । कोरोनामा केन्द्रित हुने समयमा प्राविधिक शिक्षा प्रतिष्ठान विधेयकमा किन अल्झने भनेर विपक्षीले प्रश्न गरेका छन् ।

कांग्रेस सांसदहरुले विधेयक प्रदेशका लागि अपरिहार्य भएपनि परिस्थिति अनुकुल नभएको बताए । उनीहरुले प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री रहने तथा सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष वा निजले तोकेको व्यक्ति रहने भन्ने प्रावधानको विरोध गरे ।

footwear zone

छलफलमा भाग लिदै कांग्रेस सांसद ओमकला गौतमले प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्री रहने प्रावधानले सामन्तवादको गन्ध आएको टिप्पणी गरिन् । उनले वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान आवश्यक भएपनि समयनुकुल नआएकाले विरोध गर्नुपरेको बताइन् । साथै उनले प्रतिष्ठानको सदस्यमा उद्योग वाणिज्य संघको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि रहने प्रावधानकोपनि विरोध गरिन् ।

अर्का कांग्रेस सांसद कुमार खड्काले सैद्धान्तिक शिक्षाले भोक मेटाउन नसकेको अवस्थामा रोजगार र स्वरोजगारमूलक शिक्षा दिन प्राविधिक शिक्षा अपरिहार्य भएको बताए । तर वर्तमान विषम परिस्थितिमा विधेयकलाई भन्दा विपत्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । उनलेपनि प्रतिष्ठानको संरक्षकमा मुख्यमन्त्रीलाई राख्दा विवाद सिर्जना हुने भन्दै हटाउन आग्रह गरे ।

कांग्रेस सांसद मनकुमारी गुरुङले कोरोना केन्द्रित गर्नुपर्ने वर्तमान समयमा प्रतिष्ठान सम्बन्धी विधेयक सरकारले ल्याउनु गल्ती भएको बताइन् ।

नेकपा सांसद मीना गुरुङले प्रतिष्ठान गठन भएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन गर्न सकेमा प्राविधिक शिक्षाका लागि विदेश जानुपर्ने बाध्यता हट्ने भन्दै विधेयकको समर्थन गरिन् ।

नेकपाकै अर्का सांसद मिनप्रसाद गुरुङले प्रतिष्ठान प्रदेशको गौरवको आयोजना भएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान कोशेढुंगाा सावित हुने विश्वास व्यक्त गर्दै विधेयकमा आफ्नो समर्थन जाहेर गरे । प्रदेश सभाको अर्को बैठक यहि जेठ २५ गते आइतबार बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.