काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ( नाडा)ले हाल जारी रहेको निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुनर्विचार गर्न सरकारसमक्ष आग्रह गरेको हो ।
सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाडाको धारणा छ । अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएकोले नाडाले उक्त धारणा राखेको बताएको छ ।
‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ । दक्षिण पूर्वी एशियाका केहि देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ । उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मनन् गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुनर्विचार गर्नु पर्ने देखिन्छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

‘लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको र निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित भएको अवस्थामा लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका उनले बताएका छन् । उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै बन्चित हुनु पर्ने दारुण अवस्था सिर्जना भएको र यसलाई बुझेर अगाडि बढ्न समेत नाडाले आग्रह गरेको छ ।
विश्वव्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले भदौ ४ गतेदेखि लागू हुनेगरी राजधानी लगायत देशका विभिन्न भागहरुमा निषेधाज्ञा जारी गरेको छ । र, देशमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी सरकारले यो निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको छ ।




Comments are closed.