‘मेडिप्लसलाई छिट्टै सय बेडको हस्पिटलमा विस्तार गर्दैछौं’ (भिडियोसहित)

रमेशकुमार थापा, अध्यक्ष, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, पोखरा

पोखरामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएसँगै गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि पाएको छ । गण्डकी प्रदेशमा पहिलो पटक ट्रमा सेन्टरको सुविधासहित आधुनिक र सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताउँछन् हस्पिटलका अध्यक्ष रमेशकुमार थापा । हस्पिटलबाट प्रदान हुने सेवा, विशेषता, आगामी लक्ष्य, ट्रमा सेन्टरको आवश्यकता लगायत विविध विषयमा केन्द्रित रहेर अध्यक्ष थापासँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

शिक्षा क्षेत्रमा काम गरिरहनुभएको थियो, हस्पिटल संचालन गर्ने सोच कसरी आयो ?

footwear zone

शिक्षा क्षेत्रमा काम गरिहेकाले समाजमा स्वास्थ्य क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने सोचका साथ हस्पिटल स्थापना गरेका हौं । पोखरामा स्तरीय सेवा तथा सुविधा प्रदान गर्ने हस्पिटलको अभाव पनि हामीलाई महसुस भयो । उपचराका लागि यस क्षेत्रका बिरामी काठमाडौं तथा विदेश नै जानुपर्ने अवस्था देखेर अब बिरामीले पोखरामा नै उपचार पाउनुपर्छ भनेर हामीले हस्पिटल सञ्चालनमा ल्याएका हौं । अर्को कुरा काठमाडौं बाहिर ट्रमा सेन्टर अन्त छैन । काठमाडौं बाहिर पोखरमा पहिलो ट्रमा सेन्टर सञ्चालनमा ल्यायौं । हामीले ट्रमा बाहेक अन्य सेवा पनि प्रदान गर्छौं ।

मेडीप्लस हस्पिटलमा केके सुविधा छन् ?

फार्मेसी, विश्वसनीय ल्याब, सिटी स्क्यान, एक्सरे, अल्ट्रासाउण्ड, इसिजी लगायतका सेवा यहाँ उपलब्ध छन् । केही सेवा थप गर्ने तयारीमा छौं । क्याथ ल्याब छिट्टै थप्नेछौं । स्ट्यान्डर्ड सर्भिस दिनु नै हाम्रो उद्देश्य हो । हामीसँग अर्थोपेडिक, फिजिसियन, सर्जन, गाइनो, प्याट्रिसियन, न्युरो लगायतका विभिन्न स्पेशलिष्ट डाक्टरहरु हुनुहुन्छ । अल्ट्रा साउन्डका लागि पनि विशेष डाक्टरको व्यवस्था गरेका छौं । दक्ष तथा अनुभवी टिम हामीसँग छ ।

कसरी सेवा प्रदान गरिरहनुभएको छ ?

हामीले सबै सेवा तथा सुविधा उपलब्ध गराउने कोसिस गरेका छौं । संसारमा प्रयोग भएका अत्याधुनिक विधी तथा प्रविधिको प्रयोग गरेका छौं । अत्याधुनिक उपकरण हामीसँग छन् । अपरेसन थियटर २ वटा बनाएका छौं । अपरेसनमा प्रयोग हुने सबै सामग्री अत्याधुनिक छन् । सिटी स्क्यान मेसिन पनि नयाँ छ । डिजिटल एक्सरे छ । सबै रोगका विशेषज्ञ डाक्टर हुनुहुन्छ । समय सापेक्ष रुपमा नयाँ विधि तथा प्रविधिको प्रयोग गरेका छौं ।

कुन कुन क्षेत्रबाट बिरामी आउनुहुन्छ ?

पोखरा तथा यस आसपासका जिल्लाबाट बिरामी आएको पाएका छौं । प्राय गरेर गण्डकी प्रदेशका बिरामी आउनुहुन्छ । गण्डकी प्रदेशको राजधानी भएका कारण हाम्रो फोकस पनि गण्डकी प्रदेश नै हो ।

बिरामीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

विशेषज्ञ सेवा सुलभ र सहज तरिकाले उपलब्ध गराएका छौं । विशेषज्ञहरुको सेवाका कारण नै बिरामीको मन जित्न सफल छौं र लोकप्रिय बनेका छौं । बिरामीबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । यसले हामीलाई झनै उत्साह थपेको छ । हामी बिजनेस ओरिएन्टेड भन्दा पनि सर्भिस ओरिएन्टेड छौं ।

काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर सञ्चालन गर्नुभएको छ । यसको कारण के हो ?

विशेषगरी एक्सिडेन्टल ईमर्जेन्सी केसहरु ट्रमा सेन्टरमा फोकस हुन्छ । कतिपय एक्सिडेन्टल केसहरुमा बिरामी काठमाडौं लैजादा बाटोमा नै मृत्यु भएको पनि सुनिन्छ । पोखरामा ट्रमा सेन्टर सञ्चालन भएपछि बिरामीलाई छिटो छरितो सेवा उपलब्ध गराउन सकिन्छ । दुर्घटनाका क्रममा कतिपय घाइतेले उपचार नपाएका कारण नै ज्यान गुमाउनु परेको पनि हामीले देख्यौं । यस्तो घटना नदोहोरिउन् भनेर नै ट्रमा सेन्टर संचालनमा ल्याएका हौं ।

भावी उद्देश्य के छन् ?

हाम्रो उद्देश्य १ सय वेड क्षमता पु¥याउने हो । २५ बाट शुरुवात गरेका छौं । सय बेड पुगेपछि शैक्षिक क्षेत्रतर्फ पनि लान्छौं । नर्सिङ कलेजको पनि कन्सेप्ट हामीसँग छ । फार्मेसी तिर पनि हामी जान्छौं । भविष्यमा यसलाई सिटी क्लिनिकको रुपमा विकास गर्नेछौं । विस्तारका लागि हामीले जग्गा पनि हेरिसकेका छौं । १२ रोपनी हामीले पाएका छौं । अहिले कोरोना महामारीका कारण परिस्थिति प्रतिकुल छ । यसकाण पनि केही ढिला भएको छ ।

शिक्षासँगै स्वास्थ्य क्षेत्रमा लगानी गर्नुभएको छ, नेपालको स्वास्थ्य क्षेत्रको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

नेपालमा स्वास्थ्य सेवा राम्रा तथा स्तरीय छन् । समय सापेक्ष रुपमा परिवर्तन भएका छन् । देशमा दक्ष जनशक्ति र स्रोत र साधनको कमी छैन भन्ने कुरा प्रधानमन्त्रीले नै सबैलाई प्रष्ट पार्नुभएको छ नेपालमा नै किड्नी ट्रान्सप्लान्ट गरेर । नेपाली डाक्टर दक्ष छन् भन्ने पनि यसले देखाउँछ । नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै ठुलो लगानी भइसकेको छ । अत्याधुनिक विधि तथा प्रविधिको प्रयोग हुन थालेको छ ।

You might also like

Comments are closed.