पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले कोभिड १९ को कारण सिथिल पर्यटन क्षेत्रलाई उकास्न सरोकारवालाको समन्वय र सहकार्य आवश्यक रहेको बताए । कोभिड १९को कारण मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले सहुलियतमा ऋण प्रदान गर्नु पर्ने चर्चा गर्दै उनले निजी क्षेत्रको लागि राहत दिन प्रदेश सरकारले पुनर्जिवन कोषको व्यवस्था गरेको जानकारी दिए । उनले अहिलको अवस्थामा पर्यटन व्यवसायीले कमाउने भन्दा व्यवसाय जोगाउने अवस्था आएको बताए । पोखरा चेम्बर अफ कमर्स फेवा इकाइको प्रथम साधारणसभा उनले सो कुरा बताएका हुन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मौद्रिक नीतिले मारमा परेका व्यवसायीलाई राहात तथा पुनस्थापनाको लागि राम्रो व्यवस्था गरे पनि बैंकहरुले कार्यान्वयनको लागि तदारुकता नदेखाएको बताए । पर्यटन क्षेत्रलाई विशेष राहत प्याकेज ल्याउन आग्रह गर्दै उनले व्यवसायीलाई ब्याज तिर्ने समय सिमा थप गर्न अनुरोध गरे । घर भाडमा लिएर पर्यटन व्यवसाय गर्नेले भाडमा छुट नपाएको दावी गर्दै उनले आफ्नै लगानीका व्यवसायीले ब्याजका छुट पाउन नसकेको बताए । उनले राज्य र व्यवसायीले आन्तरिक पर्यटकलाई बढवा दिनुपर्ने धारणा राखे ।
फेवा इकाईका अध्यक्ष कमल भुजेलले पर्यटकीय क्षेत्र लेकसाइडलाई आधार मानेर पोखरा महानगर वडा नम्बर ५,६,१८,२३ र २४लाई भौगोलिक कार्यक्षेत्र बनाएर फेवा चेम्बर गठन गरेको जानकारी दिए । ईकाइमा अहिले १ सय सदस्य रहेको जानकारी दिदै उनले संगठन विस्तार गरेर १ हजार सदस्य पु¥याउने उनले बताए ।

कार्यक्रममा पोखरा ६ का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका सल्लाहकार विष्णुबहादुर भट्टराई, फेवा ईकाईका उपाध्यक्ष नवराज अधिकारी, महासचिव तुलसी दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा फेवा ईकाइका साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।




Comments are closed.