महिला उद्यमशीलता बढाउन पोखरामा मेला हुँदै, तयारी तिब्र

पोखरा, ९ जेठ । पोखरामा ‘महिला उद्यमी मेला’ हुने भएको छ । जेठको अन्तिम साता पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा मेला आयोजना गरिएको हो । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकास उपसमितिको आयोजनामा मेला हुन लागेको उपसमिति संयोजक सीता बरालले जानकारी दिइन् । ‘आर्थिक सम्मृद्धिको लागि महिला उद्यमशीलता’ नाराका साथ आयोजित मेला जेठ ३० देखि असार २ गतेसम्म हुँदैछ । मेलामा प्रदेश नम्बर ४ मा रहेका हरेक जिल्लाका महिला उद्यमीहरुबाट २÷२ वटा तथा देशै भरका महिलाहरुको ५० वटाभन्दा बढी स्टल रहने बरालले जानकारी दिइन् । मेलाको तयारी तिब्र बनाइएको उनले बताइन् ।

‘मेलामा महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण, महिला उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम तथा महिलाहरुद्वारा उत्पादित सामानहरुको प्रदर्शनी र बिक्री गरिनेछ,’ बरालले भनिन् । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमिति सहयोगी रहेको मेला महिला उद्यमशीलताको लागि पाठशाला बन्ने आयोजकको दावी छ ।

यसैबीच, पोखरामा रहेका विभिन्न बस्तुगत संघहरुले महिला उद्यमी मेला, २०७५ लाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार मेलाको तयारीबारे सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा बोल्ने व्यवसायीहरु केशवबहादुर खत्री, नारायण सुवेदी, युवराज पौडेल, सञ्जयकान्त सिग्देल, पवित्र नेपाली, नविन नापित, विकल तुलाचन, कमल पौडेल, माधव भण्डारी, रामेश्वर अधिकारी लगायतले मेलालाई सफल बनाउन विभिन्न सुझाव दिनुको साथै सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

footwear zone

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, उपमहासचिव अर्जुन पोखरेल, कार्यसमिति सदस्य एवं सहसंयोजक गीता तिवारी गौतम, सदस्यहरु प्रेमबहादुर भुजेल र डिवी भुजेल लगायतले मेलाले महिला उद्यमशीलताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.