गभर्नर इन्दु लम्सालको नेतृत्व, चुनौतिकाबीच अवसरको खोजी

लायन वर्ष २०१९/२० का गभर्नर इन्दु लम्साल एउटा कार्यक्रममा निकै भावुक हुनुभयो । एकछिन बोल्नै सक्नुभएन । एकछिन रोकिएपछि पुनः भन्नुभयो, ‘मैले जुन सफलता पाएको छु, त्यसका पछाडि मेरा प्यारा लायन साथीहरुको योगदान छ । यो अवार्ड म डिष्ट्रिक्टका सम्पूर्ण साथीहरु र लिडरहरुप्रति समर्पित गर्न चाहन्छु ।’ लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गरिने सबैभन्दा ठूलो सम्मान ‘एम्बास्डर अफ गुडविल अवार्ड’ प्राप्त गर्नु डिष्ट्रिक्टका लागि सानो उपलब्धी थिएन ।

एउटा महिला गभर्नरले डिष्ट्रिक्टको नेतृत्व गरिरहँदा धेरैलाई लागेको थिएन होला यो उचाई प्राप्त हुन्छ भन्ने । अन्ततः चुनौतिका पहाडहरुबीच ऐतिहासिक इतिहास रच्दै संसारकै उत्कृष्ट डिष्ट्रिक्ट बनाउन इन्दु लम्साल सफल हुनुभयो । सम्पूर्ण सफलता र उपलब्धीहरुलाई डिष्ट्रिक्टकै अपनत्व हुने गरी नेतृत्व प्रदान गर्नसक्नु उहाँको अर्को सफलता रह्यो ।

विश्व लायनवादकै इतिहासमा पहिलो पटक एक कार्यकालमा १२० वटा क्लब चार्टर गरेर विश्व रेकर्ड राख्नु भएका लम्सालले सेवाका कार्यक्रमलाई पनि उत्तिकै महत्व दिनुभयो । बाढी पहिरो पीडितहरुका लागि तत्काल राहतको व्यवस्थापन मात्रै होइन विश्व नै कोभिडबाट आक्रान्त भएको अवस्थामा डिष्ट्रिक्टलाई सेवाका क्षेत्रमा निरन्तर सक्रिय राख्न उहाँको नेतृत्व सफल रह्यो । क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाको चुस्तदुरुस्त सचिवालय व्यवस्थापन तथा खटाइ पनि हामी सबैले गर्र्व गर्न लायक रह्यो । डिष्ट्रिक्टले सफलता पाउनुका पछाडि सचिवालयको योगदानलाई स्वयम गभर्नरले नै खुलेर प्रशंसा गरिसक्नुभएको छ ।

footwear zone

इन्दु लम्साल गभर्नर भएको वर्ष म एउटा क्लबको अध्यक्ष भइरहँदा सधैं गौरवको महसुस गरेँ । उहाँलाई गभर्नरका रुपमा मात्रै नभइ एउटा असल अभिभाबकको रुपमा पनि प्राप्त गरेँ । मैले जे महसुस गरेँ डिष्ट्रिक्टका आम लायन्स साथीहरुले पनि सोही रुपमा गभर्नर लम्साललाई अनुभव गर्नुभयो भन्ने मैले विश्वास लिएको छु ।

‘सशक्तीकरणका लागि जागौं’ अर्थात ‘राइज टु इम्पावर’ नारासहित लायन वर्ष २०१९/२० मा भएका कामहरुले गभर्नर लम्सालको मात्रै होइन डिष्ट्रिक्टकै उचाई बढेको मैले महसुस गरेको छु । विपन्न तथा पीछडिएका वर्गका महिलाहरुलाई तालिम दिएर ज्ञान, सीप हस्तान्तरण गर्ने, उनीहरुलाई आत्मनिर्भर बनाउन तालिमबाट सिकेका ज्ञान, सीप उपयोग गरी स्वरोजगार वा रोजगार दिलाउने जिम्मेवारीमा उहाँको नेतृत्व निरन्तर लागिरह्यो ।

स्वास्थ्यको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य शिविर आयोजना गर्ने, औषधी वितरण गर्नेलगायतका कामलाई पनि डिष्ट्रिक्टले सधैं प्राथमिकतामा राखेको मैले पाएँ । पीछडिएका नारीहरुको सशक्तीकरणका लागि डिष्ट्रिक्टको सक्रियता उदाहरणीय छ । उदाहरणीय कार्य गरेर समाजमा स्थापित नारीहरुलाई सम्मान गर्नुपनि अर्को महत्वपूर्ण कार्यक्रम बन्यो । बेरोजगार तथा अवसरबाट बञ्चित महिला तथा युवाहरुलाई सिपमुलक तालिमहरु प्रदान गरी स्वदेशमै आत्मनिर्भर बनाउने अभियानमा हाम्रो डिष्ट्रिक्ट कार्यकालभर अगाडि बढिरह्यो । लायन्सका प्रेसिडेन्टहरुका लागि आयोजना गरिने लायन्स लिडरसीप क्याम्प २ पटक भयो, जुन कार्यक्रममा जानेहरु सबैले लायन्स हुनुमा गौरवको महसुस पनि गरे ।

लायन्समा लाग्नु भनेको सामाजिक कार्य गर्न हो । सामाजिक कार्य गर्दा हामीलाई सन्तुष्टी मिल्छ । समाज र समाजमा रहेका विपन्न तथा कम अवसर पाएका व्यक्तिहरुको उत्थानका लागि सक्रिय भएर काम गरिरहँदा धेरै लायन साथीहरुले गौरव गर्नुभयो । त्यसमध्येमा म पनि पर्छु । सामाजिक सेवाप्रति समर्पित, समाज सेवाका लागि तल्लिन र केही गरौं भन्ने भावना भएकाहरुलाई लायन्सको सदस्य बनाउन डिष्ट्रिक्टले सधैं क्लबहरुलाई उत्प्रेणा प्रदान गरिह्यो ।

क्लब बिस्तार र सदस्यता बृद्धिका हिसाबले मात्रै होइन सर्भिसको हिसाबले पनि डिष्ट्रिक्ट संसारभर चिनिन सफल भएको छ । नारी सम्मान कार्यक्रम, महिला स्वास्थ्यसँग सम्बन्धित लक्षित कार्यक्रमहरू (स्तन क्यान्सर सचेतना, पाठेघर समस्या सचेतना), महिला क्षमता अभिवृद्धि कार्यक्रमहरू, महिला चाडपर्व फेलोसिप कार्यक्रमहरू, स्वयम प्रतिरक्षा कार्यक्रमहरू लगायतका थुप्रै महिला लक्षित कार्यक्रमहरू अगाडि सार्नुभयो र सबै कार्यक्रम अपेक्षा भन्दा बढी सफल पनि भए ।

चुनौतिकाबीच अवसर खोजी

लायन वर्ष २०१९/२० को कार्यकाल उत्साहका साथ सुरु भयो । जुन उत्साहका साथ हामी अगाडि बढिरहेका थियौं यहीबीच कार्यकालको मध्यतिर आउँदा कोभिड-१९ (कोरोना भाइरस)को प्रकोप सुरु भइसकेको थियो । जब कार्यकाल उत्तरार्धतर्फ अगाडि बढिरहेको थियो त्यो समय नेपालमा पनि कोरोनाको संक्रमण सुरु भयो । देश पुरै लकडाउन भयो ।

कोरोनाका कारण एकातर्फ देश लकडाउन थियो भने अर्कोतर्फ दैनिक मजदुरी गरेर खानेहरुको पेट खाली हुँदै थियो । यो विषम परिस्थितिमा राज्य भन्दा माथि उठेर हाम्रो डिष्ट्रिक्टले सेवाका हातहरु अगाडि बढायो । लकडाउनको समयमा पोखराको रानीपौवामा रहेका मजदुरहरुको घरमा चुल्हो बालेर राहत वितरण अभियान सुरु भयो । क्रमशः लकडाउन अवधिमा मात्रै डिष्ट्रिक्ट र क्लबहरुको सक्रियतामा हजारौं परिवारलाई राहत वितरण भयो ।

देशभरका स्वास्थ्यकर्मी तथा अस्पतालहरुलाई पिपिई सहयोग तथा सरकारलाई लाखौं रुपैयाँका स्वास्थ्य उपकरण सहयोग गर्ने काम भयो । फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण भए । लकडाउनको समयमा पहेलोँ जकेट लगाउँदै कार्यक्षेत्रमा खटिएर लायन्सहरुले सामाजिक काममा पु¥याएको योगदान स्मरणीय छ । पोखरा प्रवेश गर्ने सीमामा सेनिटाइजिङ टनेल डिष्ट्रिक्टले निर्माण ग¥यो । जुन कामले राम्रो प्रशंसा पनि पाएको थियो ।

ऐतिहासिक सफलता प्राप्त गरिरहँदा डिष्ट्रिक्ट गभर्नरलाई भव्य कार्यक्रम गरेर इलेक्सन तथा क्याबिनेट मिटिङ सम्पन्न गर्ने चाहना थियो नै । कोभिडका कारण जारी लकडाउनबीच कार्यकालको उत्तरार्धमा ठूला औपचारिक कार्यक्रम गर्न नपाएपनि प्रविधिको भरपुर प्रयोगमार्फत ऐतिहासिक कार्यक्रमहरु गर्न डिष्ट्रिक्ट सफल भयो । भर्चुअल माध्यमबाटै ५ दिने वेविनार भयो । भव्य कार्यक्रमसहित इलेक्सन र चौथो क्याबिनेट मिटिङसमेत सम्पन्न गरी गभर्नर इन्दु लम्सालले लायन वर्ष २०२०÷२१ का गभर्नर मनबहादुर रोकालाई नेतृत्व हस्तान्तरणसमेत गरिसक्नुभएको छ ।

(लेखकः लायन्स क्लब अफ पोखरा मिड टाउनका लायन वर्ष २०१९/२० का अध्यक्ष हुन्)

डिष्ट्रिक्टले प्रकाशन गरेको स्मारिकाबाट साभार ।

You might also like

Comments are closed.