पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

तनहुँ ।  आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् । कोभिड–१९ ले थला परेको बन्दीपुरको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन् ।

चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिए । “कोरोनाको कहरले थला परेको बन्दीपुरको पर्यटन व्यवसायलाई गतिशिल बनाउनका लागि पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उनले भने, “त्यसका लागि सबै होटल व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन् ।”

यतिबेला छिटपुट रुपमा आन्तरिक पर्यटक बन्दीपुर भ्रमणका लागि आइरहेको र छुट प्याकेजले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । अध्यक्ष प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् । “सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन् । पर्यटकलाई सुरक्षित रुपमा स्वागत तथा विदाईको अभियान चलाएका छौं”, उनले भने,, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”

footwear zone

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताए । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने अवस्थामा पुगेको छ,” उनले भने ।

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित पर्यटकलाई स्वागत गर्न यहाँका व्यवसायी तयार रहेको बताए । “स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर होटल सञ्चालनमा ल्याएका छौं, यसका साथै छुट प्याकेज समेत समावेश गरिएको छ”, उनले भने। विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको गुरुङको भनाइ छ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन् ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायत हिमश्रृङ्खला सजिलै अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

You might also like

Comments are closed.