भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले दसैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
उनीहरुको साथबाट २ लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उनले बताए । उनका अनुसार कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।




Comments are closed.